गृहपृष्ठ Featured ‘अवस्था सामान्य नभएसम्म’ काठमाडौंमा कुनै पनि प्रकारको प्रदर्शन गर्न बन्देज

‘अवस्था सामान्य नभएसम्म’ काठमाडौंमा कुनै पनि प्रकारको प्रदर्शन गर्न बन्देज

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आगामी दिनमा कुनै पनि र्‍याली, जुलुश, सभा वा प्रदर्शन गर्न अनुमति नदिने निर्णय गरेको छ । सुरक्षा संवेदनशीलतालाई देखाउँदै जिप्रका काठमाडौंले यस्तो निर्णय  सार्वजनिक गरेको हो ।

भोलि एमाले निकट युवासंघले काठमाडौंमा मोटरसाइकल र्याली आयोजना गर्न लागेको थियो । तर, त्यसका लागि जिप्रकाले अनुमति दिएन । एक सूचना जारी गर्दै प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सार्वजनिक सुरक्षाको प्रत्याभूति गराउने कार्यमा थप जटिलता आउन नदिन यस प्रकारका गतिविधिमा अनुमति नदिने निर्णय गरिएको बताएका छन् ।

गत भाद्र २३ गतेको जेनजी आन्दोलनपछि काठमाडौंका विभिन्न स्थानमा भएको तोडफोड, आगजनी र सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति भएको घटनालाई ध्यानमा राख्दै सुरक्षा चुनौती बढ्न सक्ने सम्भावना देखिएको सूचनामा उल्लेख छ । स्थानीय प्रशासनले सार्वजनिक सुरक्षा सुनिश्चित गर्न र सेवा प्रवाह निरन्तर राख्नका लागि पूर्वस्वीकृतिबिना कुनै र्याली, जुलुश, धर्ना, सभा वा प्रदर्शन नगर्न सबैलाई अनुरोध गरेको छ ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा ३ को देहाय खण्ड (क) र प्रहरी ऐन २०१२ को दफा १९ को व्यवस्था अनुसार यो निर्णय गरिएको हो ।

सूचनमा भनिएको छ, ‘सार्वजनिक सुरक्षाको प्रत्याभूति गराउने कार्यमा थप जटिलता आउन नदिन यस प्रकारका गतिविधिमा अनुमति नदिने निर्णय गरिएको छ । सबै नागरिक र सम्बन्धित पक्षलाई यसबारे जानकारी गराइन्छ ।’

अवस्था सामान्य नहुञ्जेलसम्मका लागि यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले नेपाल प्रेससँग बताए ।

उनले भने, ‘अहिले असामान्य अवस्था छ । यस्तो अवस्थामा अनुमति दिदाँ झन अर्को समस्या निम्तिन सक्ने खतरालाई ध्यान दिएर यस्तो निर्णय गरेका हौ । सामान्य अवस्था नहुन्जेलसम्मका लागि यो निर्णय कायम रहन्छ ।’

सम्बन्धित् समाचार