राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्वगृहमन्त्री रमेश लेखकलाई एकपटक आफ्नो आँखामा आँखा जुधाएर हेर्न आग्रह गरेका छन्।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका विषयमा आफूप्रति पूर्वाग्रह नराख्न र प्रतिशोध नसाँध्न कांग्रेस नेतासमेत रहेका तत्कालीन गृहमन्त्री लेखकले शुक्रबार गरेको आग्रहका सन्दर्भमा मिश्रले आफ्नो पुरानो घटना सम्झेका हुन्।
‘रमेशजी, मेरो आँखामा हेर्नोस् त! भदौ २३ र २४ गतेलाई लिएर यो प्रतिशोध लिने समय होइन भन्नुभएछ। एकदम राम्रो’, मिश्रले सामाजिक सञ्जालमा लेखका छन्, ‘मेरो पनि तपाईँप्रति कुनै प्रतिशोधको भाव छैन। तर कुनै सार्वजनिक कार्यक्रममा भेट्दा रमेशजी, एकपटक मेरो आँखामा आँखा जुधाएर हेर्नोस् त भन्ने उत्कट इच्छाचाहिँ छ। आशा छ- हाम्रो छिटै कहीँ न कहीँ भेट हुनेछ।’
मिश्रले अगाडि लेखेका छन्, ‘चैत्र १५ गतेको घटनालाई लिएर तपाईँले मलाई कुनै कसुरबिना ५० दिन थुन्नुभयो। सकेदेखि बाँकी जीवन पूरै जेल हाल्ने र मेरो भएको सम्पत्ति सबै जफत गर्ने मागसहित ४ वटा गम्भिर मुद्दा लगाउनुभयो। अरू धेरैलाई त्यसै गर्नुभयो। कर्तव्य निर्वाह गर्दा विवेक गुमाउनुभयो। दु:ख लागेको छ।’
गत चैत १५ गते राजावादीले काठमाडौँको तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक हुँदा मिश्र पनि पक्राउ परेका थिए।