काठमाण्डौ – रौतहटको एक विद्यालयका प्रधानाध्यापक साढे चार लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । धरहरीमा रहेको जय किसान माध्यामिक विद्यालयका प्रधानाध्यापक सञ्जय प्रसाद र विचौलिया अरविन्द प्रकाश साहकानुलाई साढे चार लाख रुपैयाँ घुससहित पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रप्रसाद पौडेलले जानकारी दिनुभयो ।
विद्यालयले शिक्षक आवश्यकता भनी खुलाएको विज्ञापनमा एक जनाले रितपूर्वक दर्खास्त दिए पनि प्रधानाध्यापक सञ्जयले बिचौलिया अरविन्द प्रकाश साहकानुमार्फत घुस लिएका अख्तियारले जनाएको छ । उनीहरुलाई घुस लिइसकेको अवस्थामा पर्साको वीरगन्ज नगरपालिका वडा नम्बर १३ मा रहेको एक होटेलबाट पक्राउ गरेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।