तस्बिर : एजेन्सी
पाकिस्तानको एउटा प्रहरी प्रशिक्षण केन्द्रमा आतङ्कवादी आक्रमण हुँदा सात जना प्रहरीको ज्यान गएको छ । अरू १३ जना घाइते भएका पाकिस्तानी प्रहरीलाई उद्धृत गर्दै समाचारसंस्था एपीले जनाएको छ ।
गएराति उत्तरपश्चिमी शहर डेरा इस्माइल खानमा रहेको प्रहरी प्रशिक्षण केन्द्रमा आक्रमण भएको हो । आक्रमणमा संलग्न छ जना आतङ्कवादी पनि मारिएका छन् । प्रहरी प्रशिक्षण केन्द्रमा एक आत्मघाती व्यक्तिले विस्फोटक पदार्थले भरिएको ट्रक गेटमा ठोक्काउँदा ठूलो विस्फोट भएको थियो ।
त्यसपछि अरू आक्रमणकारीहरू परिसरभित्र प्रवेश गर्ने प्रयास गरेका प्रहरीका वरिष्ठ अधिकारी सज्जाद अहमदले बताउनुभयो । प्रहरी र आतङ्कवादीबीच झन्डै ६ घण्टा गोली हानाहान भएको थियो । पछि अर्धशैनिक बल घटनास्थलमा पुगेर आतङ्कवादीहरुलाई नियन्त्रणमा लिएका थिए ।
सशस्त्र समूहहरूको सक्रियता बढ्दै गएपछि पाकिस्तान अहिले बिग्रँदो सुरक्षा अवस्थासँग सङ्घर्ष गरिरहेको छ । पाकिस्तारी प्रहरीका अनुसार यस वर्ष सेप्टेम्बर १५ सम्म देशभर नौ सय ७० जना आतङ्कवादी मारिएका छन् भने तीन सय ११ जना सैनिक र ७३ जना प्रहरी अधिकारीहरूको ज्यान गएको छ ।