गृहपृष्ठ Featured माओवादीसँग एकता गरे पार्टी भड्खालोमा पर्छः झलनाथ खनाल

माओवादीसँग एकता गरे पार्टी भड्खालोमा पर्छः झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले माओवादी केन्द्रसँग पार्टी एकता गर्न नहुने बताएका छन्।

माओवादी, एकीकृत समाजवादी र महिन्द्र यादव समूहबीच पार्टी एकताको प्रक्रिया चलिरहेका बेला खनालको यस्तो धारणा आएको हो।

जेनजी प्रदर्शनका क्रममा घाइते भएकी खनाल पत्नी रविलक्ष्मी चित्रकारको उपचारका लागि भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा रहेका
खनालले अहिले एकीकरण गर्न नहुने स्पष्ट पारेका हुन्।

‘यो कसैसँग पनि पार्टी एकीकरण गर्ने समय होइन र छैन। हामी कोही पनि गलत बाटोमा हिँड्दै भड्खालोमा पर्ने र अरुलाई पार्ने दिशामा नलागौँं’, उनले भने।
खनालले सबै राजनीतिक दलमा पुनर्गठन र रुपान्तरण आवश्यक रहेकामा जोड दिए।

उनले सामाजिक सञ्जालमार्फत हालका सानाठूला सबै दलहरू र आफ्नै पार्टीभित्रसमेत नयाँ वैचारिक, सङ्गठनात्मक र नीतिगत दिशामा पुनर्गठन आवश्यक रहेको बताए।

‘अब देश, जनता र वामपन्थी आन्दोलनलाई नयाँ धरातलबाट उठाउन प्रत्येक पार्टीमा पुनर्गठन र रूपान्तरण अनिवार्य छ। हरेक सानाठूला पार्टीमा र जेनजी समूहमासमेत उथलपुथल र विभाजन भइरहेको छ। यसले गर्दा सबैको माग पुनर्गठन र रुपान्तरणको हो’, उनले लेखेका छन्, ‘यो युगको माग हो, समयको माग हो र सिङ्गो राष्ट्रको मागसमेत हो।’

आफ्नो दलले पछिल्लो चार वर्षे अवधिको समीक्षा गर्नुपर्ने पनि खनालको भनाइ छ। नवौंँ राष्ट्रिय महाअधिवेशनदेखि उठाइएको युवा आवाज र कार्यविधिको विषयलाई ध्यान दिनुपर्नेमा जोड दिँदै उहाँ पार्टीभित्रका युवाको आवाजअनुरुप हुने गरी पार्टीलाई पुनर्गठन गर्नुपर्ने धारणा राखे।

सबै कम्युनिष्ट तथा वामपन्थी शक्तिहरूलाई गोलबन्द गरी बृहत राष्ट्रिय मोर्चाको निर्माणमार्फत् प्रतिनिधिसभाको निर्वाचनमा खटिनुपर्ने उनको धारणा छ।

सम्बन्धित् समाचार