वैखरी अनलाईन, बाणगंगा ।
नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कपिलवस्तुले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) र ‘हामी नेपाल’ संस्थाका संयोजक तथा जेन–जी समूहका अगुवा सुदन गुरुङविरुद्ध जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा उजुरी दर्ता गरेको छ।
अनेरास्ववियुले भदौ २४ गते सार्वजनिक सम्पत्तिमा आगजनी, तोडफोड र आपराधिक गतिविधि गर्न उक्साएको आरोप लगाउँदै मेयर शाह र गुरुङविरूद्ध प्रहरीमा उजुरी दिएको हो। उजुरीमा उनीहरूलाई राज्यविरुद्ध जासुसी गरेको आरोप समेत उल्लेख गरिएको छ।
अनेरास्ववियुका जिल्ला संयोजकको नेतृत्वमा एक टोलीले जिल्ला प्रहरी परिसर तौलिहवामा पुगेर उजुरी बुझाएको हो । सो क्रममा उनीहरूले बालेन र गुरुङले युवाहरूमार्फत राज्यविरुद्ध भ्रम फैलाउने, सामाजिक अस्थिरता सिर्जना गर्ने र अराजक गतिविधि प्रोत्साहित गरेको दाबी गरेका छन्।
प्रहरीले उजुरी दर्ता गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाउने जनाएको छ।