सागर वि.क., वैखरी अनलाईन ।
बाणगंगा नगरपालिकाको सोमबार बसेको स्थानीय भू–उपयोग परिषद्को बैठकले नगरभित्रको कित्तागत विवरण व्यवस्थित रूपमा तयार गरी सर्वसाधारणलाई जानकारी गराउने निर्णय गरेको छ।
बैठकमा “भू–उपयोग कार्यक्रम कार्यान्वयन निर्देशिका, २०७९” को दफा २६ अनुसार पालिकाले भू–उपयोग योजना निर्माण पश्चात् कित्तागत विवरण तयार गरी स्वीकृत गर्ने व्यवस्था रहेको र सोही अनुसार कार्य अघि बढाइने निर्णय भएको नगरपालिकाको भूमि शाखा प्रमुख आदित्या खनालले जानकारी दिनुभयो ।
खनालले अब निर्णयअनुसार नगरभित्रका सबै भू–भागको उपयोग योजनाअनुसार वर्गीकरण गरी कित्तागत विवरण तयार पारिने र त्यसको स्वीकृति प्रक्रिया पूरा गरी सूचना प्रकाशनमार्फत सर्वसाधारणलाई जानकारी बताउनुभयो ।
कार्यवाहक नगर प्रमुख बिष्णु प्रसाद पौडेलले भू–उपयोग योजना नगरको दीर्घकालीन विकासका लागि अत्यन्तै महत्वपूर्ण आधार भएको बताउनुभयो। उहाँले नगरको बसोबास, कृषि, उद्योग, पूर्वाधार, वातावरण संरक्षण लगायतका क्षेत्रमा योजनाबद्ध विकास सुनिश्चित गर्न भू–उपयोग योजना अनिवार्य रहेको बताउनुभयो ।
“हामीले नगरको भूमि व्यवस्थापनलाई वैज्ञानिक र दीर्घकालीन दृष्टिकोणले अगाडि बढाउने नीति लिएका छौँ,” कार्यवाहक प्रमुख पौडेलले भन्नुभयो, “यस निर्णयले भूमि दुरुपयोग नियन्त्रणका साथै योजनाबद्ध सहर विकासमा ठोस योगदान पुर्याउनेछ।”
प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले भू–उपयोग नीतिअनुसार तयार गरिने कित्तागत विवरणले नागरिकलाई जग्गा प्रयोजन र वर्गीकरणबारे स्पष्ट जानकारी दिलाउने बताउनुभयो ।
साथै, यसले भविष्यमा भवन निर्माण अनुमति, संरचना व्यवस्थापन तथा पूर्वाधार विकासका कार्यहरूमा सहजता ल्याउने उहाँको विश्वास छ।