रौतहट —रौतहटको गौर नगरपालिका-१ स्थित भित्री सडक खण्डमा जमेको पानीमा परी सोमबार तीन बालिकाको मृत्यु भएको छ । घाँस काट्न आएका ७ बालिकामध्ये ४ जना सशुकल बाहिर निस्केका थिए । तीनजना डुबेर बेपत्ता भए । उनीहरुको मृत्यु भयो । छिमेकी राजदेवी नगरपालिका-८ स्थित लक्ष्मीपुरबाट घाँस काट्न गौर आउने क्रममा बाटोको खाडलमा जमेको पानीमा तैरिने क्रममा ७ जना बालिका डुबेका थिए । तीमध्ये १३ वर्षीया आस्थाकुमारी बैठा, १५ वर्षीया राघनीकुमारी यादव र १५ वर्षीया मौसमीकुमारी बैठाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीले जानकारी दिए ।
प्रहरीका अनुसार घाँस काट्न गफिँदै आएका बालिकाहरुले अगाडि बाटोमा खडल भएको पत्तो पाएनन् । उनीहरु डुबेको खबर पाउनासाथ जिल्ला प्रहरी , सश्स्त्र प्रहरी बल हजमिनिया र वीर दल गण पुरेनवा ब्यारेकको सेनाको टोली पुगेर बालिकाको खोजी गरेको थियो ।
घटनाको एक घण्टापछि तीनै जना बालिकाहरुलाई डुबेको अवस्थामा बाहिर निकाली उपचारका लागि प्रादेशिक अस्पताल गौर लगेको थियो । चिकित्सकले ईसीजी लगायतका जाँच गर्दा तीनै जना बालिकाको मृत्यु भएको बताएको प्रहरीले जनायो ।
खाडलमा सँगै डुबेका बालिकाहरु १५ वर्षीया मुस्कानकुमारी राम, १३ वर्षीया मुस्कानकुमारी बैठा, १० वर्षीया चन्द्रमुखीकुमारी राम र १५ वर्षीया सुनिताकुमारी बैठा सकुशल रहेको एसपी गिरीले बताए । मृतक बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।