गृहपृष्ठ खबर कञ्चन गाउँपालिकामा सार्वजनिक सेवा प्रवाह सुधारका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

कञ्चन गाउँपालिकामा सार्वजनिक सेवा प्रवाह सुधारका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

messenger sharing button
sharethis sharing button

कञ्चन । रुपन्देहीको कञ्चन गाउँपालिकामा सार्वजनिक सेवा प्रवाह र पञ्जिकरण सम्बन्धी एक दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कञ्चन गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको सहभागितामा भएको यस कार्यक्रममा ईलाका प्रशासन कार्यालय बुटवलका प्रमुख रामचन्द्र अर्यालले सहजीकरण गर्नुभएको थियो।

कार्यक्रमको मुख्य उद्देश्य सार्वजनिक सेवा प्रवाह र स्थानीय तहमा पञ्जिकरणलाई अझ प्रभावकारी बनाउनु रहेको थियो।अन्तरक्रियात्मक शैलीमा सञ्चालित यस अभिमुखीकरणमा सहभागीहरुले स्थानीय तहमा सेवा प्रवाह र पञ्जिकरण सेवामा देखिने समस्या, चुनौती र जटिलताहरुका बारेमा जिज्ञासा राखेका थिए।

कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले नागरिकका लागि सहज र गुणस्तरीय सेवा प्रवाहमा जनप्रतिनिधि र कर्मचारी दुवैको समान जिम्मेवारी र उत्तरदायित्व हुने बताउनुभयो। उहाँले सेवाग्राहीलाई प्रोत्साहित गरेर सेवा प्रदान गर्नुपर्ने र सेवा प्रदायक स्थललाई नागरिकले आफ्नोपन महसुस गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो।

अध्यक्ष ढकालले स्थानीय तह नागरिकको नजिकको सरकार भएकोले कानुनको पालना गराउँदा समेत नागरिकलाई कर्तव्यबोध गराउन सक्नु असल कर्मचारीको गुण भएको उल्लेख गर्नुभयो। साथै, उहाँले सेवाग्राहीसँग गरिने सानोतिनो दुर्व्यवहार पनि कुनै दिन प्रत्युत्पादक बन्न सक्ने कुरामा ध्यान दिन आग्रह गर्नुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवराज पोखरेलले सञ्चालन गरेको यस कार्यक्रममा उपाध्यक्ष मौसमी थापा मगरको पनि उपस्थिति रहेको थियो। कार्यक्रम गाउँपालिकाको सभाहलमा सम्पन्न भएको थियो।

सम्बन्धित् समाचार