यमनको हुथी विद्रोहीले आफ्नो साना कम्पाउण्डमा छापा मारेर पक्राउ गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कर्मचारीहरू स्वतन्त्र भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । यमनमा रहेको संयुक्त राष्ट्रसङ्घको कार्यालयले शनिवार हुथी सुरक्षा फौजले शहरको परिसरमा ‘अनधिकृत प्रवेश’ गरेको जनाएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ ।
संयुक्त राष्ट्रसङ्घको बालबालिका मामिला हेर्ने निकाय (यूनिसेफ)का यमनका प्रतिनिधि पिटर हकिन्ससहित बीस जना कर्मचारीलाई दुई दिन पहिले नियन्त्रणमा लिइएको थियो । इरान समर्थित समूहको नियन्त्रणमा रहेको क्षेत्रमा पछिल्ला महिनाहरूमा संयुक्त राष्ट्रसङ्घका दर्जनौं कर्मचारीहरू हुथीको कब्जामा परेका छन् ।
सेप्टेम्बरको मध्यमा, यमनमा संयुक्त राष्ट्र सङ्घको मानवीय समन्वयकलाई आधिकारिक रूपमा हुथी विद्रोहीहरूको कब्जामा रहेको राजधानी सानाबाट अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारको अन्तरिम राजधानी एडेनमा स्थानान्तरण गरिएको थियो । दस वर्षको गृहयुद्धका कारण अरब प्रायद्वीपको सबैभन्दा गरिब देश यमन विश्वकै सबैभन्दा खराब मानवीय सङ्कटमा परेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।









