५ कात्तिक, नवलपुर ।
विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गको नारायणघाट बुटवल सडकखण्ड यात्राका लागि सहज बन्दै गएको छ । सडकको ११३ किलोमिटर खण्डमध्ये दाउन्नेबाहेकका अन्य स्थानमा राजमार्ग सहज बनेको नारायणघाट बुटवल सडक योजनाले जनाएको छ ।
योजनाको पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार हाल सडकको विभिन्न ११ स्थानमा सडक विस्तारको काम भइरहेको छ । दाउन्नेको पूर्वी खण्डमा करिब दुई किलोमिटर र पश्चिम खण्डमा करिब पाँच किलोमिटरबाहेक सबै क्षेत्रमा यातायात सहज भइसकेको उनको भनाइ छ ।
दाउन्ने खण्डमा पनि धुलो हटाएर राजमार्गलाई सहज पारिएको भन्दै उनले अहिले विभिन्न पुल सञ्चालनको तयारी, सर्भिस लेन कालोपत्र, राजमार्ग कालोपत्र गर्नेलगायतको काम भइरहेको बताए ।
‘दाउन्ने खण्डलाई पनि सहज बनाउनेगरी काम तीव्र रुपमा अगाडि बढेको छ’, उनले भने, ‘यो हिउँदसम्ममा राजमार्ग पूरै सहज बन्छ, त्यसपछि हामी राजमार्ग विस्तारको अन्य काममा जुट्नेछौँ ।’
यस खण्डमा निर्माण हुने साना २२ तथा ठूला १२ मध्ये अरुणखोला र चोरमाराका दुई वटा ठूला पुलबाहेकका सबै पुल निर्माण पूरा भइसकेका खनालको भनाइ छ ।
एकतर्फी कालोपत्र सकिएको ठाउँमा अर्कोतर्फी कालोपत्र तथा दुवैतर्फ कालोपत्र भएको स्थानमा सर्भिस लेन बनाउन, सडकको बीचमा डिभाइडर निर्माण गर्ने, सडक बिग्रिएको स्थानमा सहज बनाउने काम भइरहेको उनको भनाइ छ ।
सडक विस्तारको ठेक्का पाएका चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेशन लिमिटेडका ठेक्का व्यस्थापक इञ्जिनियर राकेश झाले अहिले नारायणघाटबाट बुटवल साढे दुई घण्टामा पुग्न सकिने बताए ।