गृहपृष्ठ Featured खुनुवा नाकामा सुन–चाँदी र नगदसहित एक जना पक्राउ

खुनुवा नाकामा सुन–चाँदी र नगदसहित एक जना पक्राउ

वैखरी अनलाइन, बाणगंगा । 

नेपाल–भारत सीमा क्षेत्र खुनुवाबाट सुन–चाँदी र ठूलो परिमाणको भारतीय नगदसहित एक जना पक्राउ परेका छन् ।

खुनुवा सीमा चौकी क्षेत्रमा भारततर्फबाट नेपाल प्रवेश गर्ने क्रममा बिहीबार बिहान भारतीय सशस्त्र सीमा बल (एसएसबी) टोलीले DL 1C AH 3827 नम्बरको एर्टिगा कार जाँच गर्ने क्रममा उक्त बरामद गरेको हो ।

जाँचका क्रममा गाडीभित्र रहेको झोलाबाट सेतो धातु (चाँदीको भनिएको) करिब ५ किलो ९५ ग्राम र पहेंलो धातु (सुनको शंका) करिब ५७.१४ ग्राम फेला परेको एसएसबी स्रोतले जनाएको छ । साथै झोलामा रहेको नगद भारतीय रुपैयाँ ३ लाख ८० हजार ३०० पनि बरामद गरिएको बताइएको छ ।

उक्त धातु र नगदका साथ पक्राउ परेका व्यक्ति नारायण प्रसाद घिमिरे (उमेर करिब ५० वर्ष), पिता त्रिलोचन राम घिमिरे, स्थायी ठेगाना रूपन्देही जिल्ला, सैनामैना नगरपालिका वडा नं. ५, प्रहरी चौकी शालझण्डी अन्तर्गतका बासिन्दा हुन् । उनलाई एसएसबी क्याम्प खुनुवा र स्थानीय प्रहरी चौकीले संयुक्त रूपमा नियन्त्रणमा लिएर सोधपुछ जारी राखेको छ ।

बरामद गाडी नयाँ दिल्लीको लाजपत नगर, सेक्टर जे–२२ निवासी राज शर्माको भएको खुलेको छ । राज शर्माले उक्त गाडी अक्टोबर २१, २०२५ मा नयाँ दिल्लीबाट बुटवलस्थित आफ्नी बहिनीको घरतर्फ जाँदै गर्दा प्रयोग गरिएको बताइएको छ ।

पक्राउ परेका व्यक्ति र बरामद वस्तुहरूको बारेमा थप अनुसन्धान भइरहेको सम्बन्धित अधिकारीहरूले जनाएका छन् ।

सम्बन्धित् समाचार