अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनबीचको वार्ता रद्द भएसँगै युक्रेनमा रूसी हवाई आक्रमण भएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी ड्रोन तथा क्षेप्यास्त्र आक्रमणमा कम्तीमा सात जनाको ज्यान गएको र त्यसमा दुई जना बालबालिका रहेका बताउनुभएको छ । युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा साना बालबालिका पढ्ने किन्डरगार्टेनमा आक्रमण भएको र किएभमा पनि ब्यापक क्षति भएको जेलेन्स्कीले बताउनुभएको छ ।
आक्रमण अघि अमेरिकी राष्ट्रपति ट्रम्पले रूसी राष्ट्रपति पुटिनसँग बुडापेस्टमा हुन लागेको शिखर बैठकको योजना स्थगित भएको बताउनुभएको थियो । क्रेम्लिनका प्रवक्ता दिमित्री पेस्कोभले मितिमा सहमति हुन बाँकी रहेको र तयारीको थप आवश्यकता रहेको बताएका बीबीसीले जनाएको छ ।
गएको शुक्रवार ट्रम्प र युक्रेनका राष्ट्रपतिबीच वार्ता भएको थियो । अमेरिकी राष्ट्रपतीको कार्यालय ह्वाइट हाउसले ट्रम्प र पुटिनबीच निकट भविष्यमा अब कुनै बैठकको योजना नरहेको समेत जनाएको छ ।