छलफलका क्रममा गृहमन्त्री ओमप्रकाश अर्याल र एमाले महासचिव शंकर पोखरेलबिचको सवालजबाफ भने रोचक थियो । बैठकमा सहभागी एक नेताका अनुसार पहिला बोलेका गृहमन्त्री अर्यालले एमालेले आफूमाथि बढी ‘टार्गेट’ गरेको आरोप लगाए । ‘एमालेहरूले ममाथि बढी टार्गेट गरेका छन्, म पोलिटिकल भिक्टिम भएको छुँ,’ अर्यालको धारणा उद्धृत गर्दै ती नेताले भने ।
अर्यालको सो भनाइपछि एमाले महासचिव पोखरेलले ‘तिमीले पनि पदीय जिम्मेवारी सम्हालेर पदअनुरुपको क्रियाकलाप गरेका छैनौ’ भन्ने जबाफ फर्काएका थिए । ‘तिमी पनि गृहमन्त्रीको जिम्मेवारीमा छौँ तर पदीय जिम्मेवारी अनुरुपको काम गरिरहेका छैनौँ,’ पोखरेलले भनेका थिए ।
महासचिव पोखरेलले कसैलाई ‘पकडिहाल्ने’, ‘समातिहाल्ने’ भन्नेजस्ता गृहमन्त्रीका अभिव्यक्ति ‘अति भएको’ बताए ।
त्यसपछि गृहमन्त्री अर्यालले आफू पनि पहिलाको एमाले भएकाले एमालेले कसो गर्थ्यो र अहिले के गरिरहेको छ भन्ने राम्रोसँग जानकारी रहेको बताए । ‘म पनि २०४७ पछिको एमाले हुँ । एमालेले के गर्थ्यो र अहिले के गरिरहेको छ, त्यसबारे राम्रो जानकारी राख्छु,’ अर्यालको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी नेताहरूले भने ।
गृहमन्त्री अर्यालले एमालेको स्कुलिङ अहिलेको जस्तो तर्साउने, थर्काउने र गुण्डागर्दी गर्ने नभएको पनि महासचिव पोखरेललाई स्मरण गराएका थिए ।
अर्यालले सरकारलाई नै दलहरूबाट सुरक्षा चुनौती रहेको बताएका थिए । ‘किमा’ बनाउने, अचार बनाउने जस्ता अभिव्यक्ति जिम्मेवार दलका नेताहरूबाटै आउने गरेको अर्यालको भनाइ थियो । भक्तपुरबाट दुर्गा प्रसाईं र महेश बस्नेतबाट सुरक्षा चुनौती थप्ने काम गरेको अर्यालको गुनासो थियो ।
‘सुरक्षा चुनौती सरकारबाट होइन । राजनीतिक दलहरूबाट सरकारलाई पनि छ । भक्तपुरबाट दुर्गा प्रसाईं र महेश बस्नेतका कारण सुरक्षा चुनौती थपिएको छ,’ अर्यालले भनेका थिए ।
छलफलमा प्रधानमन्त्री कार्की पहिलाको तुलनामा धेरै नरम देखिएकी थिइन् भने आफूलाई ‘प्रेसर फिल’ भएको बताएकी थिइन् । कार्की जसरी पनि निर्वाचन गराउनुपर्छ भन्नेमा दृढ रहेको आफूहरूले पाएको नेताहरू बताउँछन् ।