रुपन्देही ।
रुपन्देहीको मायादेवी गाउँपालिका वडा नं १ ठूलो दुवियाटोलमा दीपावली र छठ पर्वको अन्तिम तयारी चलिरहेको थियो तर बुधबार साँझ सिंगो गाउँमै सन्नाटा छाउने घटनाले सबैलाई स्तब्ध बनाएको छ ।
सो क्षेत्र वरिपरीका धेरै स्थानीयले यो घाटमा मुख्य पर्व मनाउनेगरी सधैजसो यसरी जमघट हुने गरेका थिए तर बुधबार स्थानीयलाई झस्काउने घटना भयो । यो घाटमा पुगेका मायादेवी गाउँपालिका वडा नं १ ठूलो दुवियाटोलका का १३ वर्षीय अजय हरिजन, १५ वर्षीय दीपु हरिजन र २८ वर्षीय रोहित हरिजनको मृत्यु भएपछि अहिले त्यहाँ सन्नाटा छाएको छ । केही दिनदेखि तयारी भएका दीपावली र छठका रमाइलो बन्द भएका छन् । अहिले स्थानीयहरु मृतकको घरमा जम्मा भएर शव कुरिरहेका छन् ।
वडाध्यक्ष पल्टु लोधका अनुसार अहिले उनीहरुको शव पोष्टमार्टम गरेर आजै घरमा लगेर नजिकै रहेको हरहरवा घाटमा अन्तेष्टि गरिने छ ।
‘म अहिले शव पोष्टमार्टम गरेर शव घरमा लैजानको लागि भैरहवामा रहेको छु, गाउँमा दीपावली र छठको तयारीका समयमा यस्तो ठूलो विपत्ति आइलाग्यो, दीपावलीको दिनमा शव घरमा पुराउनुपर्ने बाध्यता आइलागेको छ, सिंगो गाउँशोकमग्न छ’ उनले भने–‘कसैले कल्पना नगरेको घटना भयो, हरेकवर्ष यसैगरी मूर्ति सेलाउने ठाउँ हो, अहिले यस्तो घटनाले सबैलाई तर्साएको छ ।’
घटनास्थलमै छठ पर्वको तयारी भइरहेको बेला घटेको यस दुर्घटनापछि सूर्यपुरा र मायादेवी क्षेत्र शोकमग्न बनेको स्थानीय सन्दीप गुप्ताले बताए ।