धनुषा – छठ पर्व शुरू भएसँगै जनकपुरधामसहित धनुषा जिल्लाका स्थानीय बजारमा केराको माग अत्यधिक वृद्धि भएको छ । बजारमा केराको कारोबार बढेको छ ।
छठका लागि केराको अनिवार्य माग भएकाले उल्लेखनीय रूपमा बिक्री बढेको फलफूल व्यवसायीले बताएका छन् । छठ पर्वमा भगवान् सूर्यलाई अर्घ्य अर्पण गर्न प्रयोग हुने मुख्य प्रसाद केराको सिङ्गै घरीको माग जनकपुरधामसहित स्थानीय बजारमा अत्यधिक बढेको व्यवसायीले जनाएका छन् ।
अहिले स्थानीय महेन्द्रनगर, ढल्केबर, वीरेन्द्रबजार, गोदार, सबैला, बटेश्वर, लक्ष्मीनियाँका बजारमा केराको कारोबार बढेको छ । त्यसैगरी जनकपुरधामलगायत मुख्य बजारदेखि ग्रामीण हाटबजारसम्म अहिले केरा किन्ने ग्राहकको भीड लागेको छ ।
छठमा केराको माग उच्च हुने र आपूर्ति कम हुँदा हरेक वर्ष आयातमा वृद्धि गर्नुपर्ने जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले बताउनुभयो । उहाँका अनुसार यस वर्ष व्यापारीले भारत र अन्य जिल्लाबाट ठूलो परिमाणमा केरा खरिद गरी गोदाममा भण्डारण गरेका छन् ।
गोदाममा पर्याप्त मात्रामा केरा उपलब्ध भएकाले यस पटक व्रतालुलाई अभाव नहुने अध्यक्ष यादवले बताउनुभयो । केराको माग बढेसँगै मूल्यमा पनि वृद्धि भएको छ । क्षीरेश्वरनाथ नगरपालिका–५ का रमेश गुप्ताका अनुसार अहिले स्थानीय बजारमा केराको प्रतिघरी मूल्य ६०० देखि १ हजार रुपैयाँसम्म पुगेको छ, याे गएकाे वर्षको तुलनामा उल्लेखनीय रूपमा बढी हो ।
छठ पर्वका लागि मधेश प्रदेशको राजधानी जनकपुरधाममा केरा भारतबाट आयात गरिएको छ । स्थानीयस्तरमा माग अनुसार उत्पादन नभएपछि बाहिरबाट केरा मगाउनु परेको फलफूल व्यवसायीको भनाइ छ ।
जनकपुरमा गोपाल र वंशीभोग जातका केरा सप्तरीको भारदह, भान्टाबारी तथा इनरुवाबाट भित्र्याइएको छ । मालभोग, मिरिचमान, चिनी चम्पा जातका केरा भारतको आसाम, गोहाटी, बङ्गाल, हाजिपुर, ठाकुरगञ्ज र चम्पारणबाट मगाउने गरिएको फलफूल तथा तरकारी व्यवसायी समितिका सचिव भुवनेश्वर पूर्वेले जानकारी दिनुभयो ।
समितिका अध्यक्ष यादवका अनुसार १० चक्काको ट्रकमा १ हजार २०० घरी आउँछन् । प्रतिट्रक बराबर जनकपुरसम्म ल्याउँदाको खर्च ६ लाख रुपैयाँ पर्ने उहाँले जानकारी दिनुभयो । बजारमा प्रत्येक केराको घरीलाई ५०० देखि १ हजार रुपैयाँसम्ममा बिक्री गरिन्छ ।
नेपालको हरेक क्षेत्रमा स्थानीय जातका केरा उत्पादन हुन्छन् । नेपालमा मालभोग, झापाली मालभोग, बिलियम हाइब्रिड रोवस्टा, बिलियम हाइब्रिडलगायत जातका केराको उत्पादन हुँदै आएको छ । सम्भावना हुँदाहुँदै पनि प्राविधिक समस्याका कारण केराको उत्पादन बढाउन नसकिएको व्यवसायीको भनाइ छ ।









