तस्वीर : क्यान
काठमाण्डौ – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खला आजदेखि युएईमा शुरू हुँदैछ । यो शृङ्खलाको पहिलो खेलमा आज विहान सवा ११ बजे नेपाल र अमेरिका खेल्दैछन् ।
नेपाली टोलीको कप्तान रोहित पौडेल रहेका छन् । टोलिमा विकेटकिपर तथा ब्याटर अनिलकुमार साह र बलर शाहब आलमले पुनरागमन गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि विश्वकप लिग–२ अन्तर्गत घरेलु टोली यूएई र अमेरिकाबीच हुने शृङ्खलाका लागि टोलि घोषणा गर्दै यी दुई खेलाडीलाई पुनरागमन गराएको हो ।
दुबई अन्तर्राष्ट्रिय रंगशालामा आजदेखि शुरू हुने शृङ्खलामा नेपालले अमेरिका र युएईसँग समान २–२ खेल खेल्नेछ । यसअघि ओमानमा भएको टी–२० विश्वकप एशिया छनोट जितेर नेपाल अर्को वर्ष भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा पुगिसकेको छ । त्यसपछि टोलि ओमानबाटै दुबई पुगेको हो ।
नेपालले अक्टोबर ३० तारिख अर्थात् बिहीवार घरेलु टोली युएईसँग खेल्नेछ । त्यसपछि नोभेम्बर १ तारिख अर्थात् शनिवार अमेरिकासँग दोस्रो खेल खेल्नेछ । त्यस्तै नोभेम्बर ५ तारिख अर्थात् कात्तिक १९ गते यो शृङ्खलाको अन्तिम खेल नेपालले यूएईसँग खेलेपछि टोली स्वदेश फर्कनेछ ।
लिग–२ मा १६ खेल खेल्दा १२ अंक मात्र जोडेको नेपाल सातौं स्थानमा छ । दोस्रो स्थानको अमेरिकाको २० खेलबाट २८ अंक छ भने यूएई ६ अंकसहित आठौं स्थानमा छ ।









