दाङ ।
दाङको घोराहीमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१६ रातामाटा टोल निवासी ३५ वर्षिय निरज चौधरीको शुक्रबार दिउँसो करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
प्रहरीका अनुसार चौधरी घर नजिकैको खोल्सामा करेन्ट प्रयोग गरी माछा मार्ने क्रममा आफैं करेन्टको चपेटामा परेका थिए । गम्भीर घाइते भएका उनलाई स्थानीयले उद्धार गरी उपचारका लागि गोरखा हस्पिटल घोराही पुर्याएका थिए। तर, उपचारकै क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ।









