गुल्मीको सत्यवती गाउँपालिका–८ भार्सेका ५६ वर्षीय यमबहादुर थापा यतिबेला व्यावसायिक रूपमा किबीखेती गरेर राम्रो आम्दानी गर्न थालेका छन्। परम्परागत रूपमा मकै र कोदोखेती मात्र गरिंदै आएको उनको बारीमा किबीका बोट देख्न सकिन्छ। उनले किबीखेतीबाट मात्रै वार्षिक रु छ लाखभन्दा बढी आम्दानी गरेको बताए।
सत्यवती गाउँपालिका–८ मा वडा सदस्यसमेत रहेका थापाले ११ वर्षअघि व्यावसायिक रूपमा किबीखेती गर्न सुरु गरेका हुन्। उनले हाल आठ रोपनीमा यलिसन, हेवार्ड, रेड, गोल्डेन, ब्रुनो र मोन्टी गरी छ प्रकारका किबी लगाएका छन्।
जलवायु र भौगोलिक संरचनाका हिसाबले भार्से किबीखेतीका लागि उपयुक्त ठाउँ मानिन्छ। उनले गत वर्ष किबी र बिरुवा गरी रु छ लाख आम्दानी गरेका थिए। अहिले गत वर्षको तुलनामा अझै राम्रो हुने अपेक्षा गरिएको उनले बताए।
किबीले खेती गरेको तीन वर्षदेखि नै उत्पादन दिन थालेपछि थापालाई किबीखेती गर्ने उत्प्रेरणा जागेको हो। उनको बारीमा एउटै बोटमा ५० देखि एक क्विन्टलसम्म किबी फल्ने गरेको छ। बारीमा अहिले १५० वटा किबीका बोट छन्।
सुरुमा थापाले तार, पाइप र खम्बा बनाउन रु आठ लाख खर्चेर व्यावसायिक रूपमा किबीखेती सुरु गरेका हुन्। ‘त्यही लगानीले अहिलेसम्म काम गरेको छ, यो बहुवर्षीय भएकोले एकपटक लगाएपछि ५० वर्षसम्म आम्दानी लिन सकिन्छ, त्यसैले यसैमा रमाएको छु,’ उनले भने। किबीमा अन्य फलफूलमा भन्दा रोग कम लाग्ने उनले बताए। ‘वर्षमा दुईपटक हाँगाहरू काटछाँट गर्नुपर्छ, गोठेमल मात्र प्रयोग गरेको छु, त्यसैअनुसार उत्पादन पनि राम्रो भएको छ,’ थापाले भने।
उत्पादित किबी बजारमा रु २०० देखि ३०० सम्ममा बिक्री हुन्छ। भार्सेको किबी स्थानीय बजारदेखि पाल्पा र बुटवलसम्म पुग्छ। उनले किबीलाई प्रशोधन गरेर गत वर्षदेखि किबीको वाइन बनाउन सुरु गरेका छन्। बजारमा किबीको वाइनको राम्रो माग भएको उनले बताए। किबी बिक्री गर्न बजारको खासै समस्या नभएको उनको भनाइ छ। उनले पाँच वर्षदेखि किबीको नर्सरी पनि गर्दै आएका छन्। उनको नर्सरीमा अहिले आठ हजार किबीका नयाँ बिरुवा छन्। एउटा बिरुवाको मूल्य रु १५० देखि २०० पर्छ।
सत्यवती गाउँपालिकाले भार्से गाउँलाई किबीको पकेट क्षेत्र घोषणा गरी कृषकलाई प्रोत्साहित गरेको छ। किबीखेती विस्तारका लागि पालिकाले प्राविधिक सहयोग, तालिम, टनेल, नर्सरी र बिरुवामा अनुदान दिंदै आएको गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले बताए।
किबीका अन्य प्रकारमध्ये गोल्डेन र रेड किबी सबैभन्दा राम्रो मानिन्छ। यसको मूल्य अन्य प्रकारको किबीभन्दा रु एक सय बढी पर्छ। यसपटक गोल्डेन किबीले राम्रो मूल्य पाएको छ। भार्सेमा पाँचवटा किबी समूह छन्। ती समूहमा हाल ८० जना कृषक आबद्ध छन्। त्यहाँका कृषकका घरमा दशदेखि एक सय ५० बोटसम्म किबीका बोट छन्। उक्त क्षेत्रमा अहिले ४० हेक्टर क्षेत्रफलमा किबी उत्पादन भइरहेको छ। रासस









