गृहपृष्ठ Featured विशेष मौसम बुलेटिन जारी : वर्षाको सम्भावना

विशेष मौसम बुलेटिन जारी : वर्षाको सम्भावना

काठमाडौं ।

देशका केही स्थानमा आज (कात्तिक १०) रातिदेखि बुधबार (कात्तिक १२) बिहानसम्म वर्षा र हिमपातको पूर्वानुमान छ ।

यो अवधिमा कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना छ । बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा पनि हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले सोमबार मध्याह्न पोस्ट मनसुन विशेष मौसम बुलेटिन जारी गर्दै गण्डकीका उच्चपहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपातको पनि सम्भावना रहेको जनाएको छ ।

हाल देशमा पश्चिमी वायुका साथै अरबसागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको महाशाखाले जनाएको छ ।

“यस प्रणालीले मिति २०८२–०७–१० गते रातिदेखि मिति २०८२–०७–१२ गते बिहानसम्म गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको छ,” महाशाखाले भनेको छ, “साथै, गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपातको पनि सम्भावना रहेको छ ।”

आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह समेत गरेको छ । “सम्भावित हिमपात/वर्षाको कारणले दैनिक जनजीवन, पर्वतारोहणलगायत कृषि, पर्यटन क्षेत्रमा समेत असर पर्ने सम्भावना भएकोले आवश्यक सतर्कता अपनाउनुहुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ,” महाशाखाले भनेको छ ।

केही स्थानलाई कसरी बुझ्ने ?

१० देखि ३० प्रतिशतसम्मको क्षेत्रफललाई ‘थोरै स्थान’ भनिन्छ । १० प्रतिशतभन्दा कम क्षेत्रफललाई ‘एक–दुई स्थान’ भनिने महाशाखाले जनाएको छ ।

३० देखि ५० प्रतिशत क्षेत्रफललाई ‘केही स्थान’ भनिन्छ । ५० देखि ८० प्रतिशत क्षेत्रफललाई ‘धेरै स्थान’ भनिन्छ । ८० प्रतिशतभन्दा बढी क्षेत्रफललाई ‘अधिकांश स्थान’ भनिने महाशाखाले जनाएको छ ।

मध्यम/भारी वर्षा भनेको कति ?

कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ । १० देखि ५० मिलिमिटरसम्म पानी परे ‘मध्यम’ वर्षा भनिन्छ । १० मिलिमिटरसम्म पानी परे ‘हल्का’ वर्षा भनिने महाशाखाले जनाएको छ ।

कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ । २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी परे ‘अति भारी’ वर्षा भनिने महाशाखाले जनाएको छ ।

udasfgm-1761548685.jpg

सम्बन्धित् समाचार