काठमाडौं ।
भारतको पूर्वी तटलाई लक्षित गर्दै अगाडि बढिरहेको शक्तिशाली चक्रवात ‘मोन्था’ का कारण अधिकारीहरूले विद्यालयहरू बन्द गरेका छन् र तटीय क्षेत्रमा रहेका हजारौँ नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ ।
बङ्गालको खाडीमा विकसित भएको यो चक्रवात अहिले ‘गम्भीर चक्रवाती आँधी’ मा परिणत भइसकेको छ र दक्षिणी आन्ध्र प्रदेशको बन्दरगाह सहर काकीनाडा नजिकै मङ्गलबार राति अवतरण हुने अनुमान गरिएको भारतीय मौसम विभाग (आइएमडी) ले जनाएको छ । हाल यो आँधी आन्ध्र प्रदेशको मचिलीपट्टनमबाट करिब १६० किलोमिटर दक्षिणपूर्वमा घुमिरहेको छ ।
मौसमविद्हरूका अनुसार, चक्रवातको तीव्रता अझ बढ्दै जाने र यसले ९० देखि ११० किलोमिटर प्रतिघण्टासम्मको तीव्र हावा ल्याउने सम्भावना छ । आन्ध्र प्रदेशका १९ जिल्लामा अत्यधिक वर्षाको चेतावनी दिँदै रेड अलर्ट जारी गरिएको छ भने छिमेकी तमिलनाडु, तेलङ्गाना, केरला र कर्नाटकमा पनि मध्यमदेखि भारी वर्षाको सम्भावना छ ।
राज्य विपद् व्यवस्थापन प्राधिकरणका अनुसार, तटीय क्षेत्रका करिब ३८ हजार मानिसलाई सुरक्षित राहत शिविरहरूमा सारिएको छ । आन्ध्र प्रदेश सरकारले करिब ४० लाख मानिस जोखिम क्षेत्रमा रहेको र चक्रवातबाट प्रत्यक्ष रूपमा प्रभावित हुने अनुमान गरेको छ । राज्य सञ्चार मन्त्री नारा लोकेशका अनुसार, एक हजार ९०६ राहत शिविर र ३६४ विद्यालय आश्रयका रूपमा तयारी गरिएको छ भने एक हजार २३८ कमजोर गाउँमा निकासी अभियान जारी छ ।
छिमेकी उडिसा राज्यमा पनि प्राधिकरणले करिब ३२ हजार मानिसलाई जोखिम क्षेत्रबाट सुरक्षित शिविरमा सार्न सुरु गरेको बताइएको छ ।
जलवायु विज्ञहरूका अनुसार, दक्षिण एसियामा यस्ता गम्भीर आँधीबेहरीहरू पछिल्ला वर्षहरूमा बढी तीव्र र अनियमित हुँदै गइरहेका छन् । तातो तापक्रम र हरितगृह ग्यासहरूले उत्पन्न गरेको ग्लोबल वार्मिङले यस्ता चक्रवातलाई अझ चरम बनाइरहेको वैज्ञानिकहरूले बताएका छन् ।
भारतको पूर्वी तट क्षेत्र चक्रवातप्रति संवेदनशील मानिन्छ । सन् २०२३ मा भारतले हालसालैको इतिहासकै सबैभन्दा विनाशकारी चक्रवातको सामना गरेको थियो, जसमा ५२३ जनाको ज्यान गएको र करिब दुई अर्ब ५० करोड अमेरिकी डलर बराबरको क्षति भएको अनुमान गरिएको थियो ।









