काठमाडौं । गायक तथा संगीतकार बाबुल गिरीलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले थप पाँच दिनको समय पाएको छ । गायिका नितु पौडेलको मृत्यु प्रकरणमा थुनामा रहेका गिरीमाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले मंगलबार (कात्तिक ११) प्रहरीलाई पाँच दिनको अनुमति दिएको हो ।
नितुका आफन्तको उजुरीका आधारमा गिरी प्रहरी थुनामा छन् । बाबुल र नितु लामो समय प्रेम सम्बन्धमा थिए ।
गएको कात्तिक १ गते दिउँसो काठमाडौंको अनामनगरस्थित बाबुलको कार्यालयमा नितुले शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी थिइन् ।
उपचारका क्रममा एक सातापछि गएको शुक्रबार (कात्तिक ७) बिहान कीर्तिपुर बर्न अस्पतालमा उनको मृत्यु भएको थियो ।
उनको मृत्युपश्चात् बाबुल आफैँ प्रहरी कार्यालयमा पुगेका थिए । उनीविरुद्ध आत्महत्या दुरुत्साहन कसुरमा जाहेरी दिइएको छ ।
प्रहरीसितको प्रारम्भिक बयानमा बाबुलले नितुसितको प्रेम सम्बन्ध स्वीकार गरेका छन् । उनले आफ्नो बुवाको मृत्युका कारण विवाह हुन नसकेको बताएका छन् ।









