काठमाडौँ । नेकपा एमालेले भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा भएका आगजनी, लुटपाट र तोडफोडका घटनामा संलग्नहरूको प्रमाण संकलन गरेर कारवाहीका लागि सबुत जुटाउन सूचना बैंक स्थापना गरेको छ ।
पार्टीको सबै पंक्तिले संकलन गरेका प्रमाण केन्द्रीय कार्यालयमा रहनेछन् ।
विभिन्न व्यक्तिले तत्कालीन समयमा आफैँले राखेका भिडिओहरू टिकटक र रिलबाट डाउनलोड गरेर सोहीबेला राखिएका र नयाँ प्रमाणहरू समेत भेटिँदै जाँदा सबैलाई सबुतका रूपमा सुरक्षित गर्न सूचना बैंक खोलिएको पोलिटब्युरो सदस्य महेश बस्नेतले बताएका छन् ।
पार्टीले देशभरका सरकारी कार्यालय, प्रहरी व्यापार प्रतिष्ठान, निजी सम्पत्ति आगजनी तथा तोडफोड र लुटपाटका घटनाको भिडिओ, फोटो तथा अन्य प्रमाणहरू संकलन गर्न केन्द्रीय कार्यालयबाटै डेस्क तयार पारेको छ ।
विध्वंसका घटनामा संलग्नहरूको पहिचान हुने सबै प्रमाण संकलन गरेर सूचना बैंकमा राख्ने र प्रहरीलाई उपलब्ध गराउने प्रक्रिया चलिरहेको संगठन विभागका सचिव माधव ढुंगेलले बताए । अहिलेको सरकारले दोषीलाई उन्मुक्ति दिए पनि भोलि राजनीतिक दलको सरकार आएपछि कानूनी दायरामा ल्याउनका लागि प्रमाणहरू संकलन गरेर एकै ठाउँमा राखिएको उनको भनाइ छ ।
कतिपय सूचना तथा प्रमाणहरू सुरक्षा निकायसँग पनि समन्वयमा संकलन भइरहेको एमाले स्रोतले जनाएको छ । प्रहरी अधिकारीहरूसँग एमालेको कोर टिमले समन्वय गरेर सुरक्षाकर्मीको हत्या गर्नेदेखि हतियार लुट्नेहरूको जानकारी समेत उपलब्ध गराइरहेको नेताहरूले बताएका छन् ।
एमालेले आगजनी हिंसा तोडफोडमा संलग्नहरूको प्रमाण संकलन गर्ने, सुरक्षा निकायसँग पनि समन्वय गर्ने उद्देश्यले सूचना बैंक बनाएको बस्नेतको भनाइ छ । यस्ता घटनामा संलग्नहरूको पृष्ठभूमि केलाउने, उनीहरूको नेक्सस कोसँग भनेर खोज्ने र अमनप्रताप अधिकारीलगायत नेपो बेबीहरू यो विध्वंसमा को-को थिए भनेर सूक्ष्म विश्लेषण गर्ने काम पनि भइरहेको एमालेले जनाएको छ ।









