सागर वि.क., वैखरी अनलाईन ।
आगामी मंसिर १८ गतेदेखि पुस १ गतेसम्म सञ्चालन हुने १६औं कपिलवस्तु महोत्सव तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी–२०८२ का तयारी सुरु भएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै आयोजक संस्था बाणगंगा वेलफेयर सोसाइटीले आन्तरिक तयारीका कामहरू केही दिनदेखि निरन्तर रूपमा जारी रहेको र अबको तयारी भौतिक संरचना निर्माणमा केन्द्रित हुने जानकारी दिएको छ ।

बाणगंगा वेलफेयर सोसाइटीका अध्यक्ष राजकुमार खाँणले कपिलवस्तुको ऐतिहासिक, सामाजिक, आर्थिक र सांस्कृतिक परिचयलाई देश–विदेशमा प्रवद्र्धन गर्ने उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको बताउनुभयो । उहाँले गत वर्षको १५औं महोत्सवको मञ्चमै यस वर्षको मिति घोषणा गरिएको स्मरण गर्दै भन्नुभयो, “यो महोत्सव कुनै व्यक्तिगत वा प्रतिस्पर्धात्मक स्वार्थ होइन, समग्र कपिलवस्तुको पहिचान र समृद्धिको अभियान हो ।”
अध्यक्ष खाँणले महोत्सवको सफलताका लागि आम नागरिक, उद्योगी, व्यवसायी र सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको बताउँदै शान्ति सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिनुभयो । उहाँका अनुसार सुरक्षाका लागि सुरक्षा निकायसँग समन्वय, सेक्युरिटी कम्पनीसँग सम्झौता, सिसिटिभि क्यामेरा र ड्रोनमार्फत निगरानीको व्यवस्था मिलाइनेछ । साथै, ४० जना भन्दा बढी स्वयम्सेवक महोत्सव स्थलमा परिचालित हुनेछन् ।

सोसाइटीका महासचिव बुद्धिबहादुर रोकाहा क्षेत्री ‘दिनेश’ ले महोत्सवले जिल्लाको पहिचान, सम्भावना र अवसरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने बताउनुभयो । उहाँका अनुसार यस वर्षको महोत्सवमा कृषि, पर्यटन र उद्योगसँग सम्बन्धित उत्पादन तथा प्रविधि प्रदर्शनी, विविध सांस्कृतिक कार्यक्रम, व्यापार मेला, मनोरञ्जनात्मक गतिविधि, निःशुल्क स्वास्थ्य शिविर, एम्बुलेन्स सेवा, लागुऔषध विरुद्ध सचेतनामूलक कार्यक्रम तथा शैक्षिक कार्यक्रमहरू रहनेछन् ।
महासचिव क्षेत्रीले महोत्सवलाई कुनै व्यक्तिगत स्वार्थभन्दा बाहिर राखी सबै पक्षको सहकार्यमा भव्य र सफल रूपमा सम्पन्न गरिने उल्लेख गर्दै भन्नुभयो, “यो महोत्सवलाई राष्ट्रियस्तरको औद्योगिक प्रदर्शनीका रूपमा स्थापित गर्ने हाम्रो लक्ष्य हो ।”
“कृषि, उद्योग, पर्यटन तथा खेलकुदमा लगानी, युवाको हातमा सुनौलो बिहानी” भन्ने मूल नारासहित १६औं कपिलवस्तु महोत्सव बाणगंगा नगरपालिका–४ जीतपुरस्थित बुद्धरंगशालामा सञ्चालन हुनेछ ।
उक्त कार्यक्रममा आयोजक संस्था बाणगंगा वेलफेयर सोसाइटीका अध्यक्षसहित कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्री, निवर्तमान अध्यक्ष डोलकराम घिमिरे, पूर्वअध्यक्ष विष्णु न्यौपाने, युवा समाजसेवी शक्तिसिंह ठकुरी लागयतको उपस्थिती रहेको थियो ।










