अमेरिकामा लामो समयदेखि संघीय सरकारको बजेट पारित नहुँदा विभिन्न क्षेत्रमा गम्भीर असर पर्न थालेको छ। त्यसको सबैभन्दा ठूलो प्रभाव अहिले उड्डयन क्षेत्रमा देखिएको छ।
बजेट पारित नहुँदा तलबबिनै काम गर्न बाध्य कर्मचारीहरू बिदामा जान थालेका वा वैकल्पिक रोजगारीतर्फ आकर्षित हुन थालेपछि संघीय उड्डयन प्रशासन (एफएए) ले सयौं उडान कटौती गर्न बाध्य भएको हो।
संघीय सरकार लामो समयदेखि बजेट पारित गर्न असफल रहँदा शुक्रबार मात्र देशका प्रमुख विमानस्थलहरूमा ५,००० भन्दा बढी उडानहरू रद्द गरिएको बीबीसीले जनाएको छ।
यो अराजकताको मुख्य कारण हवाई यातायात नियन्त्रक (एयर ट्राफिक कन्ट्रोलर) हरूको तीव्र अभाव हो। सरकार बन्द (शटडाउन) का कारण तलबबिना काम गर्न बाध्य यी कर्मचारीहरूलाई परेको मानसिक र आर्थिक दबाबका कारण धेरैजना अनुपस्थित हुन थालेका छन्।
कर्मचारी अभाव कम गर्न तथा यात्रु सुरक्षा सुनिश्चित गर्न एफएएले शुक्रबारदेखि लागू हुनेगरी नयाँ निर्देशन जारी गरेको छ। उक्त निर्देशनअनुसार देशका ४० ठूला विमानस्थलमा उडान संख्या तत्काल ४% ले घटाइएको छ। यदि सरकारी बन्द यस्तै जारी रह्यो भने आगामी हप्ताको अन्त्यसम्म यो कटौती १०% पुग्ने लक्ष्य राखिएको एफएएले जनाएको छ।
यस कदमले न्युयोर्क, लस एन्जलस, शिकागो र वासिङ्टन डीसीजस्ता देशका सबैभन्दा व्यस्त विमानस्थलहरूमा प्रत्यक्ष असर पारेको छ।
एफएएका अनुसार हवाई यातायात नियन्त्रकहरू पहिलेदेखि नै जनशक्ति अभाव र अत्यधिक कार्यभारको समस्या भोग्दै आएका थिए। सरकार बन्दले यो सानो संख्यामा रहेका दक्ष जनशक्तिमाथि असहनीय दबाब थपेको हो।
एक महिनाभन्दा बढी समयदेखि तलब नपाएका धेरै नियन्त्रकहरू आर्थिक र मानसिक तनावका कारण ‘बिरामी’ भन्दै अनुपस्थित हुन थालेका छन्। कतिपयले परिवारको खर्च धान्नका लागि ‘साइड काम’ (पार्टटाइम रोजगार) लिन बाध्य भएका छन्, जसले उनीहरूको मुख्य जिम्मेवारीमा असर पारेको छ।
यातायात सचिव सीन डफीका अनुसार हालको उडान कटौतीले अन्तर्राष्ट्रिय यात्रामा तत्काल प्रभाव नपारेको भए पनि, यो अवस्था लामो समय टिक्न नसक्ने हो। फक्स न्युजसँगको अन्तर्वार्तामा उनले भने, “यदि सरकार बन्द लामो समयसम्म चलिरह्यो र नियन्त्रकहरूको अनुपस्थिति बढ्दै गयो भने उडान कटौती २०% सम्म पुग्न सक्छ।”
सरकार बन्दको असर हवाई यातायातमै सीमित छैन। देशभरका लाखौं नागरिकलाई दिइने खाद्य सहायता कार्यक्रमहरूको बजेट पनि रोकिएको छ, जसले थप मानवीय संकट सिर्जना गर्ने चिन्ता बढाएको छ।








