बुद्धभूमि, कपिलवस्तु ।
नेकपा (एमाले) बुद्धभूमि नगर कमिटीले नगरभित्रका सबै १० वटै वडामा वडास्तरीय भेला सम्पन्न गरेको छ। गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनबाट उत्पन्न राजनीतिक परिस्थितिको समीक्षा गर्ने उद्देश्यले आज शनिबार एकैदिन सबै वडामा भेला सम्पन्न गरिएको हो।

नगर कमिटीका उपाध्यक्ष रोमबहादुर थापा क्षेत्रीका अनुसार भेलाले हालैको जेन्जी आन्दोलनका मागहरूलाई जायज ठहर गर्दै पनि त्यसमा आन्तरिक तथा बाह्य शक्तिहरूको चलखेलले आन्दोलनलाई अराजक र विध्वंसात्मक दिशातर्फ डोरेको निष्कर्ष निकालेको छ। उहाँले भ्रष्टाचारविरुद्धको अभियान र सुशासनको आवश्यकता जनताको साझा माग भएको भन्दै एमालेले त्यसका पक्षमा निरन्तर आवाज उठाउने बताउनुभयो।

यसैबीच, नगर कमिटीका अध्यक्ष ध्रुब प्रसाद न्यौपानेले आउँदो कार्तिक २५ गते बुद्धभूमि नगरपालिका–४ बुढ्ढीमा जनप्रदर्शनको आयोजना गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार सो कार्यक्रममा पार्टीका सबै कार्यकर्ता तथा आम नागरिकको सहभागिता सुनिश्चित गर्न आग्रह गरिएको छ।
अध्यक्ष न्यौपानेले हालको राजनीतिक परिस्थिति र एमालेको धारणा जनतामाझ स्पष्ट पार्ने उद्देश्यले वडास्तरीय भेला र जनप्रदर्शनका कार्यक्रमहरू सञ्चालन गरिएको बताउनुभयो।









