नेकपा एमालेको आगामी सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारीको घोषणा गर्ने भएका छन्। उनलाई सचिवालयका बहुमत सदस्यले साथ दिने तयारी छ।
कात्तिक १५ गते भक्तपुरको गुन्डुमा बसेको सचिवालय बैठकमा सचिवालय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीलाई मार्गप्रशस्त गरेर पार्टी पुनर्गठनमा सहयोग गर्न आग्रह गरेका थिए। त्यसमा ओली सहमत भएनन्।
तर, अब बस्ने बैठकमा औपचारिक रूपमा पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी दिने जानकारी गराउने सचिवालयका एक नेताले बताए। मंसिर २७–२९ सम्म काठमाडौँमा तय भएको एघारौँ महाधिवेशनको लागि मूल समिति र अन्य समितिहरू बनाउन पनि सचिवालय बैठक बस्नुपर्नेछ।
यद्यपि, बैठकको मिति तय भइसकेको छैन।
कात्तिक १५ गतेको बैठकमै पोखरेलले अध्यक्ष पदमा आफ्नो उम्मेदवारीबारे कुरा उठाउन खोजेको ती नेताको भनाइ छ।
‘महाधिवेशन प्रतिनिधि चयनको विषयमा छलफल हुँदै गर्दा ईश्वर कमरेडले नेतृत्वको बारेमा पनि छलफल गर्नुपर्ने भयो, को हो नि भनेर सोध्नु भएको थियो,’ ती नेताले नेपालखबरसँग भने, ‘त्यसपछि अध्यक्ष ओलीले अहिले मिलेन, अर्को बैठकमा छलफल गर्नुपर्ने भयो भन्नु भयो।’
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नवीकरण भइसकेको सदस्यता खोल्न ओली सहमत भएका छैनन्। भण्डारीलाई अध्यक्ष बन्न नदिन सदस्यता नै रोकिदिएपछि पोखरेलले उनकै साथ लिए ओलीसँग प्रतिस्पर्धा गर्न लागेको ती नेताले दाबी गरे।
‘अब बस्ने बैठकमा पार्टीको नेतृत्व लिन उठ्छु, मलाई सहयोग गर्नुस् भनेर ईश्वर कमरेडले ओलीजीलाई भन्नुहुन्छ,’ ती सचिवालय सदस्यले थपे, ‘समझदारी हुन्छ या प्रतिस्पर्धा, त्यहीँ फाइनल कुराकानी हुन्छ।’
पोखरेलले ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गर्ने निर्णय गरेको रिपोर्ट नेपालखबरले अघिल्लो साता नै प्रकाशित गरेको थियो। त्यसपछि पोखरेलले एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै पूर्वराष्ट्रपतिको सदस्यता नवीकरण नखोले आफूले अध्यक्षमा उम्मेदवारी दिने बताएका थिए।
‘हाम्रो समूहबाट अब अध्यक्षमा ईश्वर उठ्ने पक्का हो,’ अर्का सचिवालय सदस्यले भने, ‘यसकै लागि सबै नेतासँग कुरा भइराखेको छ। विद्या भण्डारीको पूरै सहयोग रहन्छ। सबैसित एकएक कुरा गरिरहेका छौँ।’
छलफलमा पूर्वमाओवादीका रामबहादुर थापासँग पनि सकारात्मक कुरा भएको ती नेताले दाबी गरे।
‘हामी चुप लागेर कहाँ बस्छौँ त, यत्रो वर्ष राजनीति गरेर आएको भन्नुभएको छ,’ उनले भने।









