गृहपृष्ठ Featured भैरहवा भन्सार : ३ महिनामा २७ अर्ब ७५ करोड राजस्व संकलन

भैरहवा भन्सार : ३ महिनामा २७ अर्ब ७५ करोड राजस्व संकलन

दुई महिनाअघि भएको प्रदर्शनका क्रममा जलाइएको रुपन्देहीको भैरहवास्थित भन्सार कार्यालयले राजस्व संकलनमा सुधार गरेको छ ।

आगजनीलगत्तै परिसरमा पाल टाँगेर सेवा सुरुवात गरेको कार्यालयले आर्थिक वर्ष २०८२/०८३ को पछिल्लो तीन महिनामा २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । जुन भन्सार विभागले तोकेको लक्ष्यको ९७ दशमलब १५ प्रतिशत मात्रै हो ।

भन्सार प्रमुख शिवलाल न्यौपानेका अनुसार भन्सारले चालु वर्षको साउन, भदौ र असोज महिनामा २८ अर्ब ५७ करोड २२ लाख रुपैयाँ राजस्व संकलन लक्ष्य पाएको थियो । उनका अनुसार कार्यालयले गत साउनमा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको थियो । भदौ र असोजमा लक्ष्य पूरा हुन सकेन । जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिका बीच आगजनी, तोडफोड र लुटपाट भएको थियो । त्यसलगत्तै दसैं, तिहार, छठ जस्ता पर्वका कारण आयात खुम्चिएपछि राजस्व लक्ष्य पूरा हुन नसकेको उनले बताए ।

भन्सारले साउनमा ९ अर्ब २ करोड ९३ लाख ३४ हजार राजस्व संकलन गरेको छ । साउनमा भन्सारले ८ अर्ब ८४ करोड ८४ लाख ९० हजार राजस्व लक्ष्य पाएको थियो । यस्तै, भदौमा ९ अर्ब ७० करोड ६३ लाख ९ सय रुपैयाँ लक्ष्यमा ९ अर्ब ४३ करोड ९४ लाख २४ हजार मात्र संकलन भएको छ ।

असोजमा १० अर्ब १ करोड ७४ लाख एक हजार लक्ष्यमा ९ अर्ब २८ करोड ६७ लाख २० हजार मात्रै राजस्व संकलन भएको भन्सार प्रमुख न्यौपानेले जानकारी दिए ।

सम्बन्धित् समाचार