लोकसेवा आयोगको परीक्षामा नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको पदमा निजामती कर्मचारीहरूको तुलनामा चिट चोरी अनियमिता र खेताला (नक्कली परिक्षार्थी) प्रयोग गर्ने गरेको पाइएको छ।
आर्थिक वर्ष २०८१/८२को विवरण राखी आयोगले केही दिनअघि राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइएको प्रतिवेदनमा यस्तो तथ्य उल्लेख गरिएको छ। प्रतिवेदनमा प्रष्ट्रसँग भनिएको छ, ‘परीक्षामा अनियमितता गर्नेमध्ये अधिकांश परीक्षार्थी सुरक्षा निकायतर्फका विज्ञापनका रहेका छन्।’
उक्त आर्थिक वर्ष आयोगबाट सञ्चालित परीक्षाहरूमा निजामती सेवातर्फ पाँच जना उम्मेदवारलाई आयोगले तोकेका शर्त उल्लघंन गरेर अनियमित काम गरेको भन्दै कारबाही गरेको थियो। तर सुरक्षा निकायतर्फ भने ३६ जना उम्मेदवार अनियमित काम गरेको भन्दै कारबाहीमा परेका थिए।
प्रतिवेदनमा उल्लेख गरे अनुसार सुरक्षा निकायतर्फको परीक्षामा नेपाल प्रहरीको विभिन्न पदमा १७ जना उम्मेदवारले नक्कली परीक्षार्थी तयार गरेका थिए। अर्थात् १७ जना खेताता तयार गरिएको थियो। यसैगरी नेपाली सेना र पुलिस तर्फ इलोक्ट्रनिक डिभाइस प्रयोग गर्ने, चिट चोर्ने, उत्तर पुस्तिाका च्यात्ने उम्मेदवारहरूको संख्या प्रतिवेदनमा उल्लेख गरिएको छ। जस अनुसार प्रहरी र सेनाको परिक्षामा ३÷३ जनाले परीक्षामा इलोक्टे«निक डिभाइस लगेका थिए भने पुलिस तर्फ ८ जना उम्मेदवारले उत्तर पुस्तिका नबुझाई हिँडेका थिए ।
यसैगरी नेपाली सेनाको परिक्षामा ३ जना उम्मेदवारले परीक्षा केन्द्रमै उत्तर पुस्तिका च्यातेका थिए ।
परीक्षामा अनियमिता गर्ने उम्मेदवारलाई आयोगले १ वर्षदेखि २ वर्षसम्म कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही गर्ने गरेको छ। प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक, खुला तथा समावेशी समूहका विज्ञापनका लागि आयोगको अनलाइन दरखास्त प्रणालीमा कुल चार लाख ५९ हजार आठ सय ३४ दरखास्त प्राप्त भएका छन्। विगत वर्षहरूमा जस्तै आर्थिक वर्ष २०८१/८२ मा पनि नेपालका सबै जिल्लाबाट दरखास्त परेका छन्।
आयोगका अनुसार २०८१/८२ मा सबैभन्दा बढी दरखास्त पर्ने पाँच जिल्लामा सर्लाही, धनुषा, बारा, महोत्तरी र रौतहट छन्। सबैभन्दा बढी दरखास्त पर्ने जिल्ला सर्लाही भए पनि उत्तीर्ण गर्ने जिल्ला जुम्ला भएको हो। आयोगका अनुसार ती पाँच जिल्ला सर्लाही, धनुषा, बारा, महोत्तरी र रौतहटबाट कुल ८० हजार १ सय ६८ (१७.४३ प्रतिशत) दरखास्त परेका छन् । त्यस्तै सबैभन्दा न्यून दरखास्त पर्ने पाँच जिल्लामा क्रमशः मनाङ, मुस्ताङ, रसुवा, रुकुम पुर्व र डोल्पा छन्। यी जिल्लाबाट कुल दुई हजार एक सय ८२ (०.४७ प्रतिशत) मात्र दरखास्त परेका छन्।
यस वर्ष दरखास्त दिने उम्मेदवारहरूको औसत उमेर २८ वर्ष छ। प्रतिवेदनअनुसार आयोगबाट प्रकाशित निजामती सेवातर्फका तीन हजार एक सय ८१ विज्ञापनमध्ये विभिन्न ४४ वटा विज्ञापनमा कुनै पनि दरखास्त परेनन्।









