गृहपृष्ठ Featured हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु

हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको पथलैया–निजगढ सडकखण्डमा सोमबार बिहान जंगली हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु भएको छ। मृत्यु हुने व्यक्ति जीतपुरसिमरा उपमहानगरपालिका–१ का ४० वर्षीय राजकुमार चौधरी रहेका प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार घटनाको समय चौधरीले चलाएको ट्रक राजमार्गको १२ किलो भन्ने स्थानमा रोकिएको थियो। सो क्रममा जंगलतर्फबाट आएको हात्तीले ट्रकमा आक्रमण गर्न खोजेपछि चौधरीले गाडीबाट ओर्लिएर भाग्ने प्रयास गरेका थिए। तर हात्तीले पछ्याएर आक्रमण गर्दा चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सो क्षेत्रमा आइतबार रातिदेखि नै हात्तीको आतङ्क बढ्दै गएको थियो। राजमार्गमा बारम्बार हात्ती देखिएपछि यात्रु र सवारी चालकहरू आतंकित बनेका थिए। हात्ती नियन्त्रणका लागि नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले राति अबेरसम्म जंगलभित्र भगाएको थियो। तर, बिहानको समयमा हात्ती पुनः राजमार्गमा निस्किएर चौधरीमाथि प्राणघातक आक्रमण गरेको हो।

सम्बन्धित् समाचार