गृहपृष्ठ Featured ओलीको दाबी : ‘यो सरकारले चुनाव गराउँदैन’

ओलीको दाबी : ‘यो सरकारले चुनाव गराउँदैन’

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले चुनाव नगराउने दाबी गरेका छन्।

विभिन्न समयमा एमाले छाडेर गएकाहरूलाई भित्र्याउन सोमबार काठमाडौंमा आयोजित ‘घर फर्क’ अभियानमा ओलीले यो सरकारको उद्देश्य चुनाव गराउन नभएको दाबी गरेका हुन्।

प्रमुख तीन दलका शीर्ष नेतासँग भेट्न अनिच्छा प्रकट गर्दै प्रधानमन्त्री सुशीला कार्कीले केही दिनअघि दिएको अभिव्यक्तिको ओलीले आलोचना गरे।

‘चुनावको रट लगाउने यो सरकार राजनीतिक पार्टीका नेताको अनुहार हेर्न, देख्न, भेट्न कुरा गर्न मन छैन भन्छ,’ उनले भने, ‘प्रधानमन्त्रीका सहयोगी भन्छन्-राजनीतिक दललाई चुनावमा भाग लिन दिने होइन। नेताहरूलाई त घरबाटै निस्कन दिने होइन। अर्कोथरि भन्छन्-पार्टीले नै जित्ने हो भने त चुनाव किन गराउने ? अनि यिनले चुनाव गराउँछन् भनेर हामीले पत्याइदिनुपर्ने ?’

जेनजी विद्रोहले प्रधानमन्त्री बनाएकी प्रधानमन्त्री कार्कीले १४ कात्तिकमा सम्पादकहरूसँगको भेटमा ठूला तीन दलका शीर्ष नेतासँग भेट्ने इच्छा नभएको टिप्पणी गरेकी थिइन्।

यस्तो सरकारले चुनाव नै नगराउने दाबी गरेका ओलीले भने, ‘विभिन्न देशमा ६ महिनामा चुनाव गराउन भनेर अन्तरिम सरकार बनाएका हुन्छन्। हामी कहाँ पनि ६ महिनामै चुनाव गराउने भनिएको छ। तर, डेढ वर्षसम्म चुनाव नभएका थुप्रै देश छन्। कुनै देशमा त पाँच वर्षसम्म चुनाव गराएका छैनन्। यस्तो सरकारले चुनाव गराउने चाहना नै राखेको हुँदैन।’ २३ र २४ भदौको जेनजी आन्दोलनबाट अपदस्त भएका ओलीले वर्तमान सरकार असंवैधानिक भन्दै यस्तो सरकारलाई आफ्नो दलले मान्यता नदिने बताए। ‘यो सरकारसँग हामीले लड्नुपर्नेछ। किनभने यो सरकार असंवैधानिक छ। यस्तो सरकारलाई मान्यता दिने होइन, यसले गरेका असंवैधानिक क्रियाकलापहरू असफल बनाउने हो,’ उनले भने।

सम्बन्धित् समाचार