गृहपृष्ठ खबर कांग्रेसमा देउवालाई सिध्याउँछु भन्ने सपना नदेखे हुन्छ– मुख्यमन्त्री शाह

कांग्रेसमा देउवालाई सिध्याउँछु भन्ने सपना नदेखे हुन्छ– मुख्यमन्त्री शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली कांग्रेसभित्र पार्टी सभापति शेरबहादुर देउवालाई सिध्याउँछु भन्ने सपना नदेख्न चेतावनी दिएका छन्।

सोमबार डडेल्धुरामा कार्यकर्तालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले देउवा र उनकी पत्नी आरजु राणा लक्षित विरोध औचित्यहीन रहेको पनि बताए।

‘पार्टी सभापति देउवा र उहाँकी धर्मपत्नी आरजु राणालाई सिध्याउँछु भन्नु दिवा सपना मात्रै हो,’ शाहले भने, ‘पञ्चहरूले पञ्चायतकालमा सिध्याउन सकेनन्। माओवादीले गोली प्रहार गरेर पनि सकेनन्। र, यतिखेर जेनजीहरूले सांघातिक आक्रमण गर्दा पनि उहाँ कतै विचलित हुनुभएको छैन।’

पाँच पटक प्रधानमन्त्री भइसकेका देउवामाथि सांघातिक आक्रमण हुँदा समेत केही सीमित व्यक्तिहरू अमानवीय ढंगले नेतृत्व कब्जाको सोचमा लागेको उनले बताए।

‘केही सीमित व्यक्तिहरू नेतृत्व कब्जा गर्न विशेष महाधिवेशनको पक्ष उछालिरहेका छन्,’ उनले भने, ‘तर त्यसले पार्टीलाई दीर्घकालीन रूपमा फाइदा पुर्‍याउँदैन। अहिलेको विषम परिस्थितिमा विशेष महाधिवेशनको बखेडा उठाउनेभन्दा आन्तरिक संवाद र समन्वयमार्फत समाधान खोज्नु उपयुक्त हुनेछ।’

सुदूरपश्चिमका विभिन्न जिल्ला भ्रमणमा रहेका मुख्यमन्त्री शाह बिहीबार देउवाको गृह जिल्ला डडेल्धुरा पुगेका थिए।

‘यो भूमिले देशको पाँच पटक नेतृत्व लिने शेरबहादुर देउवा जस्ता व्यक्तित्वलाई जन्म दिएको छ,’ उनले भनेका थिए, ‘यो भूमि पवित्र भूमि हो र यहाँका जनता धन्य छन्।’

उनले पार्टी सभापति देउवाले सधैं जनताको अधिकार स्थापनाका लागि अग्रपंक्तिमा रहेर संघर्ष गरेको पनि बताए।

‘विगतमा धेरै पटक उहाँ ज्यानकै बाजी थापेर प्रजातन्त्रका खातिर लड्न र मर्न तयार भएको व्यक्ति हो,’ उनले भने, ‘उहाँमाथि पटक पटक ज्यानका खतरा आइरहँदा पनि उहाँ कहिल्यै विचलित हुनुभएन र अहिले पनि विचलित हुनुभएको छैन।’

 

मुख्यमन्त्री शाह बैतडी, दार्चुला लगायत जिल्ला पुगेर अहिलेको राजनीतिक अवस्थाबारे बताउँदै, विशेष महाधिवेशनको औचित्य नरहेको पनि भनिरहेका छन्।

उनले भने जेनजी आन्दोलनपछिको उथलपुथलबीच पनि ‘सरकार र संविधान छँदैछ’ भन्ने सन्देश दिन भ्रमणमा निस्किएको बताउँदै आएका छन्। उनले जेनजी आन्दोलनलाई अप्रत्याशित र अकल्पनीय आन्दोलनको संज्ञा दिँदै, त्यसले दिएको सन्देश अनुसार सबै आ–आफ्नो ठाउँबाट सच्चिनु जरूरी रहेको पनि भनेका छन्।

सम्बन्धित् समाचार