सुदन गुरुङको ‘द काउन्सिल अफ जेनजी’का ६ जना प्रदेश संयोजकसहितका जेनजी अगुवा ऊर्जामन्त्री कुलमान घिसिङले खोल्ने दलमा सहभागी भएका छन्।
बागमती प्रदेशकी संयोजक अफसाना बानु, मधेसका शिव यादव, गण्डकीबाट प्रदीप पाण्डे, लुम्बिनीका आदित्य अर्याल, सुदूरपश्चिमबाट खेमराज साउद र कर्णालीबाट प्रकाश खड्का उक्त दलमा संलग्न भएका हुन्। अन्य केही अगुवा पनि सो पार्टीमा जाने उनीहरूको भनाइ छ।
उनीहरूलाई केन्द्रीय सदस्य बनाइने छ।
कुलमानले उज्यालो नेपाल नामक दल दर्ताका लागि निवेदन दिने अन्तिम तयारी गरेका छन्। उनीहरूले चुनाव चिह्नमा बिजुलीको चिम माग्ने भएका छन्। यद्यपि, हाललाई यो पार्टीको संयोजकमा पूर्वसचिव अनुपकुमार उपाध्यायको नाम हुनेछ।
कुलमान चुनावको मुखमा मात्रै मन्त्रीबाट राजीनामा दिएर पार्टी नेतृत्वमा आउने छन्।
कुलमानको पार्टीलाई काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह र सुदन गुरुङको समर्थन रहने चर्चा छ। यद्यपि, सुदन आफैँ नभई उनीनिकट जेनजी युवा यो दलमा आबद्ध हुने भएका छन्।