भारतको गुजरातमा एउटा अनौठो र दुर्लभ स्वास्थ्य समस्याको घटना फेला परेको छ।
गुजरातको अमरेली जिल्लाको सावरकुंडला नगरको एउटा अस्पतालमा उपचार गर्न आएकी महिलाको त्यो समस्या देखेर डाक्टरहरू पनि छक्क परेका छन्।
अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीका अनुसार सुरतकी ६६ वर्षीया गीता बेन नामकी महिला आँखा उपचार विभागमा उपचार गराइरहेकी थिइन्।
करिब दुई महिनादेखि उनको आँखा वरिपरि र खासगरी परेलामा चिलाउने र पोल्ने समस्या भइरहेको थियो। आँखा रातो हुने, निन्द्रा नलाग्ने जस्ता लक्षण पनि देखिएका थिए।
अस्पतालका आँखा विशेषज्ञ डा. मृगांक पटेलले जाँच गर्दा थाहा भयो — उनको परेलामा एक-दुइटा होइन, २५० वटाभन्दा बढी जीवित जुम्रा र ८५ भन्दा बढी अन्डा रहेछन्।
यसलाई भारतमै दुर्लभ भनिएको छ। डा. पटेल र उनको टोलीले दुई घन्टा लामो अपरेसन गरेर ती सबै जुम्रा र अन्डा निकालेको बिबिसीले जनाएको छ।
आँखाको परेलामा जुम्रा पर्ने अवस्थालाई चिकित्सकीय भाषामा ‘फ्थिरियासिस प्याल्पेब्रारम’ भनिन्छ। यो दुर्लभ रोग हो जसमा ‘क्र्याब लाइस’ नामका जुम्रा परेलामा जम्मा भएर रगत चुस्छन्।
गीता बेनको परिवारका अनुसार, उनले सुरतका धेरै अस्पतालमा उपचार गराएकी थिइन् तर निको भएन। पछि सावरकुंडलामा ल्याउँदा डा. पटेलले समस्या पत्ता लगाए।









