काठमाडौं ।
सरकारले सोमबार (कात्तिक २४)) नेपाल प्रहरीको ३३औँ महानिरीक्षक (आईजीपी)मा अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकबाट कार्कीलाई आईजीपीमा नियुक्त गरिएको हो । कार्कीले बिहीबार (कात्तिक २७)देखि नेपाल प्रहरीको कमान्ड सम्हाल्नेछन् ।
हालका आईजीपी चन्द्रकुबेर खापुङ प्रहरीको ३० वर्षे सेवाहदका कारण अवकाशमा जाने भएपछि सरकारले उक्त पदमा कार्कीलाई नियुक्त गरेको हो । नेपाल प्रहरीको इतिहासमा छोटो कार्यकाल पाउने आईजीपीमध्येका खापुङ बुधबार (कात्तिक २६) रातिदेखि अवकाशमा जानेछन् ।
कार्कीसँगै आईजीपीको दौडमा एआईजीत्रय राजन अधिकारी, डा. मनोज केसी र सिद्धिविक्रम शाह थिए । तर, एआईजी बढुवाको वरीयताको एक नम्बरमा रहेका कार्कीले प्रहरीको सर्वोच्च कमान्डर आईजीपी बन्ने अवसर पाए । गएको भदौ १९ गते आईजीपी बनेका खापुङ दुई महिनामै अवकाशमा जाँदै छन् ।
तर, दुई महिना नेपाल प्रहरीको प्रमुखका रूपमा उनले सबैभन्दा संक्रमणकालीन अवस्थाको सामना गर्नुपर्यो । आईजीपी नियुक्त भएको पाँचौँ दिनमै केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारविरुद्ध उत्रिएको ‘जनेजी’ समूहको प्रदर्शन अराजक बन्यो ।
सामाजिक सञ्जाल निष्क्रिय तथा भ्रष्टारविरुद्धको प्रदर्शनका क्रममा भदौ २३ गते प्रहरीले चलाएको गोली लागेर काठमाडौंमा १९ युवाको मृत्यु भयो । प्रहरीको सोही बल प्रयोगविरुद्ध भदौ २४ गते देशभर उत्रिएका प्रदर्शनकारीको समूहले प्रहरी र उनीहरूका कार्यालयमाथि नै आक्रमण गर्यो ।
काठमाडौंमा तीन प्रहरी कर्मचारीको हत्या गरियो । देशभरका अधिकांश प्रहरी कार्यायलमा आगजनी भयो । आगजनीबाट प्रहरीका करिब ४०० सय भवन, सवारीसाधन खरानी बन्यो । एक हजारभन्दा बढी हतियार लुटियो । प्रहरीको उक्त हतियार अझै फिर्ता भएको छैन ।
प्रदर्शनपश्चात् प्रहरीको दैनिक काम–कारबाही प्रभावित मात्र बनेको छैन, मनोबल समेत गुमेको छ । यद्यपि, खापुङले आफ्नो दुई महिनाको कार्यकालमा प्रहरीको मनोबल बढाउने भरमग्दुर प्रयास गरे ।
जनेजी प्रदर्शनपछि गठित सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले बनाएको छानबिन आयोगले प्रहरीसँग बयान लिने प्रक्रिया थालेपछि उनले त्यसको खुलेरै प्रतिवाद गरे । प्रदर्शनमा खटिएका कमान्डरमाथि कारबाही गर्न नहुने र प्रहरीले आफ्नो जिम्मेवारी पूरा गर्दा मानवीय क्षति व्यहोरेको उनले स्पष्ट पारे ।
‘लो प्रोफाइल’मा बसेर काम गर्न रुचाउने खापुङ उत्तरार्धमा भने चर्चाको शिखरमा पुगे । राम्रो गर्न नसके पनि नराम्रो नगर्ने उनको पुरानै प्रतिबद्धता हो ।
जेनजी प्रदर्शनपछि प्रहरीले व्यहोरेको क्षति तथा गुमेको मनोबल उकास्ने जिम्मेवारी अब कार्कीको काँधमा आएको छ । उसो त कार्कीले आगोले खरानी भएको भवनबाटै प्रहरीले आफ्नो जिम्मेवारी पूरा गर्दै आएको बताइरहेका छन् ।
अझ पछिल्ला आईजीपीमध्ये सबैभन्दा लामो कार्यकाल कार्कीको हुनेछ । विद्यमान प्रहरी ऐनानुसार कार्कीको कार्यकाल दुई वर्ष पाँच महिना हुनेछ । प्रहरीमा ३० वर्षे सेवाहदका कारण अधिकांश आईजीपीको कार्यकाल छाटो हुने गरेको छ । कार्की ०५४ चैत १८ गते प्रहरी सेवामा प्रवेश गरेका हुन् ।
यस्तो छ कार्कीको ‘कमान्ड कन्ट्रोल’
गुल्मीको मालिका गाउँपालिका–७, घमिरमा ०२९ साउन १५ गते जन्मिएका कार्कीले प्रहरी सेवामा विभिन्न क्षेत्रको कमान्ड सम्हालेका छन् । सशस्त्र द्वन्द्वका बखत प्रहरीमा प्रवेश गरेका कार्कीले त्यही बेला देखि विभिन्न चुनौतीको सामना गरेका छन् ।
माओवादीले ०५२ मा सालमा सुरु गरेको हिंसात्मक युद्धको दुई वर्षपछि उनी प्रहरी सेवामा प्रवेश गरे । द्वन्द्वका समयमा पश्चिम क्षेत्रमा खटिँदा कैयौँपटक माओवादीसँग आमनेसामने भएको भोगाइ कार्कीसित छ । १० वर्षे माओवादी द्वन्द्वकालको भन्दा बढी भौतिक क्षति जेनजी प्रदर्शनका क्रममा भएको पनि उनले अनुभव गरे ।
भदौ २४ गते प्रदर्शन अराजक अवस्थामा पुगेपछि काठमाडौं उपत्यकाको सुरक्षा कमान्ड सम्हाल्न उनलाई नै पठाइएको थियो । तर, उनले कमान्ड सम्हाल्न नपाउँदै काठमाडौंका प्रहरी कार्यालयमाथि आगजनी सुरु भइसकेको थियो । साँझ त उपत्यका प्रहरी कार्यालय नै खरानी बन्यो ।
डीआईजी हुँदा उनले लुम्बिनी प्रदेश प्रहरी कार्यालयको कमान्ड सम्हालेका थिए । एसपी हुँदा कास्कीलगायत विभिन्न जिल्ला प्रहरी कार्यालयको नेतृत्व गरेको अनुभव उनीसँग छ ।
उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महानगरीय ट्राफिक प्रहरी महाशाखा, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखामा समेत काम गरिसकेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंको एसएसपी हुँदा कार्की र तत्कालीन एसएसपी मनोज केसीले नक्कली भुटानी शरणार्थी प्रकरणबारे गरेको अनुसन्धान चर्चामा छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयको कमान्ड सम्हाल्नुअघि उनी प्रहरी प्रधान कार्यालयस्थित मानव स्रोतसाधन विभागको प्रमुख थिए ।
राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका कार्कीले समाजशास्त्र, शिक्षाशास्त्र र कानुनमा स्नातक तहको अध्ययन पूरा गरेका छन् । उनी गीतकार समेत हुन् । पछिल्लो समय प्रहरीका हरेक कार्यक्रममा गुन्जिने गीत ‘हरगाउँ हरनगरी फूलको बास्नासरी, नागरिकलाई मानी सर्वोपरि’ गीत कार्कीले नै लेखेका हुन् ।
०५४ चैतमा प्रहरी निरीक्षक बनेका कार्की ०६६ मंसिरमा डीएसपीमा पदोन्नति भए । ०७४ साउनमा एसपी बने । ०७९ साउनमा एसएसपीमा उक्लिए । ०८१ जेठमा डीआईजी बने । ०८२ वैशाखमा एआईजीमा बढुवा भएका हुन् । एआईजीमा बढुवा भएको सात महिनामा उनी आईजीपीमा पदोन्नति भएका छन् ।
कार्की कुनै विवादमा नपरेका अधिकारीका रूपमा चिनिन्छन् । आईजीपीका रूपमा अबका दुई दिनपछिदेखि उनको परीक्षण सुरु हुनेछ ।









