गृहपृष्ठ Featured यस वर्षकाे मनसुनजन्य विपदमा १ सय ४० जनाको ज्यान गयो, ३० जना बेपत्ता

यस वर्षकाे मनसुनजन्य विपदमा १ सय ४० जनाको ज्यान गयो, ३० जना बेपत्ता

काठमाण्डाै – यो वर्ष मनसुजन्य विपद्का कारण १ सय ४० जनाको ज्यान गएको छ । यस वर्ष पहिरोका कारण ६७, बाढीका कारण ३७, वर्षाका कारण सात र चट्याङ लागेर २९ जनाको ज्यान गएको हो । अन्य ३० जना बेपत्ता भएका छन् ।

राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सार्वजनिक गरेको विवरण अनुसार ३ सय जना घाइते भएका छन् । विपद्का कारण ५ हजार ९ सय ९५ घरपरिवार प्रत्यक्ष प्रभावित भएका प्राधिकरणले जनाएको छ ।

गएको वर्षको मनसुनमा वर्षाजन्य विपद्मा परेर ४ सय ९५ जनाको ज्यान गएको थियो । तुलनात्मक रूपमा यो वर्ष मानवीय क्षति घटेको छ । यस वर्षको मनसुन गएको जेठ १५ गते नेपाल प्रवेश गरेर १ सय ३५ दिनपछि असोज २४ गते बाहिरिएको थियो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार यो वर्षको मनसुन अवधिमा १ हजार ३ सय ७५ दशमलव ४ मिलिमिटर वर्षा भएको छ । याे औसत वर्षा १ हजार ४ सय १४ दशमलव ५ मिलिमिटरको ९७ दशमलव २३ प्रतिशत हो ।

मनसुनको अन्त्यतिर अर्थात् असोज १७ गतेदेखि २० गतेसम्म भएको आरीघोप्टे वर्षाका कारण मात्रै ५३ जानको ज्यान गएको र ५ जना बेपत्ता भएका प्राधिकरणको तथ्याङ्क छ । यस्तै अर्को घटनामा असार २४ गते रसुवामा आएको बाढीले १८ जनालाई बगाएको थियो ।

यो वर्षको मनसुनमा बाढी, पहिरो र डुबानका समस्यासँगै सुक्खा हुने समस्या पनि आएको छ । मनसुनको शुरुआतमा वर्षा नहुँदा सरकारले साउन ८ गते मधेश प्रदेशलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

मनसुन अवधिमा मनसुनजन्य घटनाबाहेक आगलागी, सर्पदंश, जनावर आक्रमण र हावाहुरीजस्ता अन्य विपद्का घटनामा पनि ठूलो मानवीय क्षति भएको छ ।

प्राधिकरणका अनुसार यस वर्षको मनसुन अवधिमा मनसुनबाहेक अन्य विपद्का १ हजार ६ सय ७६ घटना भएका थिए । यी घटनामा १ सय २० जनाको ज्यान गएको छ भने ६ सय २२ जना घाइते भएका छन् ।

अन्य विपद्हरूमध्ये सबैभन्दा धेरै सर्पले टोकेर ७४ जनाको ज्यान गएको छ । यस्तै जनावर आक्रमणबाट २१ जना, आगलागीबाट ११ जना र लेक लाग्नुका कारण १३ जनाको ज्यान गएको प्राधिकरणको तथ्याङ्क छ ।

सम्बन्धित् समाचार