गृहपृष्ठ Featured कपिलवस्तुमा लुटपाट, चोरी र तस्करीका घटना बढ्दै

कपिलवस्तुमा लुटपाट, चोरी र तस्करीका घटना बढ्दै

मनोज पौडेल, कपिलवस्तु ।

कपिलवस्तु — जिल्लामा अहिले दिनदहाडै लुटपाट र चोरी तस्करीका घटना बढेका छन् । २४ सैं घण्टा सुरक्षा पहरामा हुने जिल्ला प्रहरी मुख्यालयको मूल गेटअघिबाटै मोटरसाइकल चोरी हुँदा स्थानीय त्रस्त बनेका छन् ।

 

मंगलबार बिहान ६ नबज्दै यशोधरा गाउँपालिका–७ स्थित सीमा प्रहरी चौकी मर्यादपुर नजिकै २ सय १८ बोरा भारतीय युरिया मल भन्सार कार्यालय, सुठौलीले बरामद गर्‍यो । दशगजादेखि सय मिटर नेपाली भूभागतिर र प्रहरी चौकीदेखि दुई सय मिटर पश्चिम उक्त मल बेवारिसे रूपमा फेला परेको हो । तर, प्रहरी चौकी नजिकै रहेको उक्त मल डेढ किमि पर उत्तरमा रहेको सुठौली भन्सार कार्यालयका अधिकारी पुगेर बरामद गरे ।

भन्सार अधिकृत किरण विष्टले बीओपी डंगरीका सशस्त्र प्रहरी लिएर गई उक्त मल बरामद गरी कार्यालयमा ल्याएका हुन् । आफूलाई सूचना आएपछि पुगेर बरामद गरेको उनले बताए । प्रहरी चौकीको बेवास्ता र अनभिज्ञताले चोरी तस्करीको घटनाले बल पाएको छ । ५० किलो तौलका युरिया मल २ लाख ३५ हजार रुपैयाँबराबरको रहेको छ । मल तस्कार गर्ने भने फरार छन् ।

त्यस्तै गत कार्तिक १५ गते वाणगंगा नगरपालिका–६ स्थित लक्ष्मणघाट चोकमा चिया नास्ता र किराना पसल संचालन गर्दै आएकी महिलाको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले घाँटीबाटै सुनको सिक्री लुटेर फरार भए ।

‘लुटेराले दिउँसो ४ बजेतिर पसलमा आएर गुट्का किनेर खाए र एक बट्टा चुरोट किने,’ ६५ वर्षीया भीमाकुमारी खनालले भनिन्, ‘सलाई मागे । सलाई खोज्न निहुँरिदा घाँटीमा लगाएको एक तोलाको सुनको सिक्री लुटेर भागे ।’ सिक्री लुटेर खारखानी जंगलतिर भागेका लुटेरालाई प्रहरीले अझै समात्न सकेको छैन । प्रहरी भने खोजतलास भइरहेको परम्परागत उत्तर दिँदै पन्छिने गरेको छ ।

चोक बजारमा पर्ने पसलबाट दिउँसै लुटपाटको घटना हुँदा स्थानीय भयभित बनेका छन् । यसले उनीहरूमा त्रास बढेको छ । १० दिन भइसक्दा पनि लुटेरा पक्राउ पर्न नसक्नु दुःखद भएको स्थानीय हुमनाथ भट्टराईले बताए ।

यता सदरमुकाम तौलिहवास्थित प्रहरी कार्यालयको गेटदेखि सय मिटर पश्चिमतर्फ राखिएको मोटरसाइकल चोरी भएको ७ दिनपछि प्रहरीले बल्लतल्ल फेला पारेको छ । तर, चोरसम्म भने प्रहरी पुग्न सकेन । गत कार्तिक १८ गते काम विशेषले जिल्ला प्रहरी कार्यालय पुगेका कपिलवस्तु नगरपालिका, धर्मपनियाका चतुर्भुजमणी त्रिपाठीको लु४प ४४०७ नम्बरको मोटरसाइकल दिउँसो ३ बजे चोरी भएको थियो । मोटरसाइकल भने सीमाको भारतीय बजारमा फेला पारेर प्रहरीले ल्याएको छ ।

प्रहरीको गेटअघिबाटै मोटरसाइकल हराएपछि स्थानीयले सुरक्षा सतर्कतामा गम्भीर प्रश्न उठाएका थिए । प्रहरीतिर नैतिक प्रश्न तेर्सिएपछि उनीहरू सक्रिय भई मोटरसाइकल खोजीमा लागेका थिए । प्रहरी कार्यालयमा रहेको सिसी क्यामरामा मोटरसाइकल चोरेर लग्दै गरेको मान्छे देखिए पनि प्रहरी चोर समात्न असफल रहेको छ ।

सीमा प्रहरी चौकी मर्यादपुर आसपास दशगजा छेउमा मल बरामद भएको विषयमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डीएसपी रिपेन्द्रकुमार सिंहले बताए । प्रहरीको संलग्नता देखिए कारबाही गर्ने बताए । उता महिलाको सिक्री लुटिएको विषयमा भने सम्बन्धित युनिटलाई अनुसन्धान गर्न निर्देशन गरिएको बताए । तर, लुटपाटको घटना भएको १० दिन भइसक्दा पनि प्रहरीले केही पत्ता लगाउन सकेको छैन । अहिले यहाँका जिल्ला प्रहरी प्रमुखमा उपरिक्षक सन्तोष आचार्य छन् ।

सम्बन्धित् समाचार