वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिका–२ स्थित पिपरा अस्पतालमा विगत १६ महिनादेखि मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी सम्हाल्दै आउनुभएकी एमडीजीपी डा. सरस्वती भट्टराई सरुवा भएकी छिन् । डा. भट्टराई अब टेकु अस्पताल, काठमाडौंमा जान लागेकी हुन् ।।
डा. भट्टराईको १६ महिनाको कार्यकालमा पिपरा अस्पतालले सेवा विस्तार, संरचना सुधार र विशेषज्ञ सेवामा उल्लेखनीय प्रगति हासिल गरेको छ ।

सीमित बजेट, पूर्वाधार र न्यून जनशक्ति भएका परिस्थितिमा पनि अस्पतालले प्रदेशमै नमूना स्थानीय अस्पतालको उपाधि पाएको छ ।
उनको व्यवस्थापन शैली, योजनाबद्ध कार्यशैली र निरन्तर सक्रियताले छोटो समयमै अस्पतालले स्वास्थ्य सेवा पहुँच, गुणस्तर र विशेषज्ञ सेवामा नयाँ मापदण्ड स्थापित गर्न सफल भएको हो ।
डा. भट्टराईको कार्यकालमा अस्पतालमा धेरै महत्वपूर्ण सेवा थपिएका वा सुदृढ भएका छन्। हाल अस्पतालमा सुरक्षित मातृत्व कार्यक्रम, पोषण सेवा, अनुमोदित सुरक्षित गर्भपतन सेवा, ओपीडी सेवा, इमर्जेन्सी सेवा, २४ घण्टा प्रयोगशाला र फार्मेसी सेवा, थाइराइड परीक्षण सेवा लगायतका सेवाहरु नियमित रूपमा सञ्चालनमा छन् । यी सेवाले स्थानीय बासिन्दालाई नजिकमै गुणस्तरीय उपचार प्राप्त गर्न सहज बनाएको छ र अन्य अस्पतालमा अनावश्यक रेफर हुने दर पनि घटेको छ ।

डा. भट्टराईको सक्रियतामा पिपरा अस्पतालले स्थानीय तहका अस्पतालमा दुर्लभ मानिने धेरै सेवा सुरु गर्न सफल भएको छ । अहिले अस्पतालमा जनरल फिजिसियन सेवा, स्त्रीरोग प्रसूति सेवा, शल्यक्रिया सेवा, भिडियो एक्स–रे, पोस्टमार्टम सेवा, उन्नत प्रयोगशाला परीक्षण जस्ता सेवा सञ्चालन भइरहेको छ । यीमध्ये धेरै सेवा प्रदेशका अन्य स्थानिय अस्पतालहरूमा उपलब्ध छैनन्, जसले पिपरा अस्पताललाई विशिष्ट बनाएको छ ।
अपुग पूर्वाधार, न्यून बजेट र सीमित तालिम प्राप्त जनशक्ति हुँदाहुँदै, डा. भट्टराईले उपलब्ध स्रोतको अधिकतम उपयोग, सेवाप्रदायकहरूको क्षमतावृद्धि, द्रुत निर्णय र प्रभावकारी समन्वय, बिरामी–केन्द्रित सेवा प्रक्रियाको प्रवद्र्धन मार्फत अस्पताललाई प्रदेशमै प्रतिस्पर्धीस्तरको सेवा दिने क्षमतामा उकास्न सफ भईन् ।
उनको नेतृत्वले “स्रोत अभावले प्रगतिमा रोक्दैन, नेतृत्व र दृष्टि महत्वपूर्ण हुन्छ” भन्ने सफल उदाहरण प्रस्तुत गरेको छ ।
डा. भट्टराईका अनुसार आगामी दिनमा अस्पताललाई व्यापक विशेषज्ञ सेवायुक्त संस्थामा रूपान्तरण गर्ने योजना छ । जसअनुसार अस्पतालमा अब चाँडै नै हड्डी (अर्थोपेडिक) सेवा, शिशु स्वास्थ्य (बालरोग) सेवा, मानसिक स्वास्थ्य (मनोविज्ञान) सेवा सुरु हुने तयारी अन्तिम चरणमा पुगेको छ । यी विशेषज्ञ सेवाहरू सञ्चालन भएपछि पिपरा अस्पतालले अझ ठूलो क्षेत्रका बिरामीलाई उपचारका लागि आकर्षित गर्नेछ र रेफर दर झनै न्यून हुने विश्वास छ ।

डा. भट्टराईले कार्यकालभर निरन्तर साथ, सहयोग र विश्वास प्रदान गर्ने बाणगंगा नगरपालिका, पिपरा अस्पताल परिवार, स्थानीय समुदाय, विभिन्न सहयोगी संस्था र व्यक्तिहरूप्रति डा. भट्टराईले विशेष धन्यवाद व्यक्त गरेकी छन् । उनले यस अस्पतालको समग्र विकासको लागि बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले चासोका साथ दिर्घकालीन योजनासहित अघि बढेको भन्दै यसले अस्पतालको स्तरोन्नतिमा महत्वपूर्ण भूमिका खेल्ने बताएकी छिन् ।
डा. सरस्वती भट्टराईले १६ महिनामा पिपरा अस्पताललाई सेवा विस्तार, गुणस्तरीय उपचार, विशेषज्ञ सेवा थप, संरचनागत सुधार, व्यवस्थापनमा नवप्रयोगमार्फत प्रदेशकै नमूना अस्पताल बनाउने दृढ मार्गमा अघि बढाएकी छन् । उनले सुरु गरेका सुधार, बनाएको आधारशिला र भविष्यका योजनाले निकट भविष्यमा पिपरा अस्पताललाई अत्याधुनिक, विश्वासिलो र सुविधा सम्पन्न स्थानीय अस्पतालको रूपमा स्थापित गर्नेछ भन्ने विश्वास सबैले व्यक्त गरेका छन् ।








