गृहपृष्ठ Featured नवलपुरमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

नवलपुरमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

नवलपुरको कावासोती १६ डण्डामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था  गम्भीर  छ ।  जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गएराति रोकि राखेको कर्णाली प्रदेश ०२–००१–ख ०५६४ नंं बसमा ठक्कर खाएर पल्टिएको ना ४३ प ३४३६ नम्बरको मोटरसाइकललाई ना ६ ख ४८१३ नंं को ट्रकले ठक्कर दिएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते मोटरसाइकल  चालक कावासोती १६ गैडाचोक निवासी बस्ने ४२ वर्षीय हिरा बहादुर परियारको मध्यविन्दु प्रादेशिक अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि मोटरसाइकलमा सवार कावासोती–३, पुरानो कावासोती निवासी ३२ वर्षीया सुनिता जोहार्ज र कावासोती –१४, त्रिभुवनटार  निवासी २४ वर्षीया मीना मगर घाइते भएका छन्। घाइतेमध्ये सुनिताको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइते सुनिताको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ भने सुनिताको मध्यविन्दु प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने बस र ट्रक दुवै फरार भएपछि स्थानीयले राति नै केही बेर सडक अवरुद्ध गरेका  थिए ।

ठक्कर दिने ट्रक र ट्रक  चालक मकवानपुर थाहा नगरपालिका निवासी २८ वर्षीय विज्ञान केसीलाई चोरमारा प्रहरीले र बस र चालक पर्सा जिल्लाको जगन्नाथपुर गाउँपालिका ५ निवासी ४४वर्षीय जैनुल मिया अन्सारीलाई बेल्डिया प्रहरीले नियन्त्रणमा लिएपछि राति  साढे २ बजेतिर अवरुद्ध सडक खुलेको प्रहरीले जनाएको छ ।
ठक्कर दिने बस, बस चालक, ट्रक र ट्रक चालक अहिले जिल्ला प्रहरी कार्यालय नवलपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार