गृहपृष्ठ Featured किराँत समुदायमा उधौली पर्वको रौनक

किराँत समुदायमा उधौली पर्वको रौनक

काठमाण्डौ – मंसिर शुक्ल पूर्णिमाका दिन आज किराँत समुदायले पितृको मान र प्रकृतिको सम्मानका रूपमा उधौली पर्व मनाउँदैछन् । किराँत समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम पर्वका नाममा उधौली धुमधामसँग मनाउँदैछन् ।

किराँत समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई पर्वका रूपमा मनाउँछन् । बाली लगाउने बेलामा भने किराँत जातिमा यावा अर्थात् उभौली पर्व मनाइने चलन छ । भूमिपूजाका लागि बिहानैदेखि किराँत महिला तथा पुरुषहरू जातीय वेशभूषामा सजिएर च्याबु्रङ बाजाको तालमा धाननाच नाच्दै पर्व मनाउने ठाउँमा पुग्छन् ।

पर्व र रीतिरिवाज एउटै भए पनि आ–आफ्नो भाषाअनुसार पर्वलाई पुकार्ने चलन छ । पूजापछि आ–आफ्नो परम्पराअनुसार चण्डीनाच, च्याब्रुङनाच, ढोलनाचलगायतका नाच नाचेर मनोरञ्जन गर्छन् । वैशाख शुक्ल पूर्णिमामा उभौली पूजा गरेका किराँतले आज उधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन् । जाडोमा तल झर्ने र गर्मीमा माथि लेकमा जाने रूपमा पनि उधौली र उभौली पर्वलाई लिने गरिन्छ ।

उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे) लाई धन्यवाद दिने पर्वका रूपमा मनाउने गरिएको विश्वाससमेत किराँत जातिमा छ । खस आर्यले मनाउने धान्य पूर्णिमा, नेवार समुदायले मनाउने यः मरि पुन्हि अर्थात् योमरी पूर्णिमा र किराँत समुदायले मनाउने उधौली पर्वको भाव भने एकै छ ।

नयाँ अन्न बाली भित्र्याएपछि आआफूले मानेका देवी देवतालाई चढाएर खाने परम्परा । यस अवसरमा आज देशभर सार्वजनिक बिदा दिइएको छ ।

सम्बन्धित् समाचार