गृहपृष्ठ Featured बाणगंगामा घरबारविहीन र असहायका लागि दैनिक निःशुल्क खानाको सेवा

बाणगंगामा घरबारविहीन र असहायका लागि दैनिक निःशुल्क खानाको सेवा

बाणगंगा ।

घरबारविहीन, असहाय, अशक्त तथा सडकमा जीवन बिताइरहेका व्यक्तिहरूका लागि बाणगंगा नगरपालिका–४ मा दैनिक निःशुल्क खाना सेवा सञ्चालन हुने भएको छ। होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुले “भोकको विरुद्ध मानवीय अभियान” अन्तर्गत २०८२ माघ १ गतेदेखि ३ गतेसम्म निःशुल्क खाना वितरण गर्ने निर्णय गरेको हो।

संघका अनुसार बिहान १० बजेदेखि बाणगंगा नगरपालिका–४ स्थित चोक (तौलिहवा रोड) मा दैनिक रूपमा खाना वितरण गरिनेछ। भोकका कारण कोही पनि सुत्न नपरोस् भन्ने मानवीय उद्देश्यका साथ अभियान सुरु गरिएको संघले जनाएको छ।

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष रबिन्द्र पौडेलले भोकसँग लड्न सामूहिक सहकार्य आवश्यक रहेको बताए। उनले भने, “सडकमा बस्ने, घरबारविहीन तथा असहाय व्यक्तिहरूमा आशा जगाउने हाम्रो प्रयास हो। एक छाक खाना कसैका लागि जीवन बाँच्ने प्रेरणा बन्न सक्छ, त्यसैले यो सेवा व्यवस्थित र निरन्तर रूपमा अघि बढाइनेछ।”

अभियान सफल बनाउन समुदाय, व्यापारी, सामाजिक संस्था तथा युवाहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको अध्यक्ष पौडेलको भनाइ छ।

स्थानीयवासीहरूले यस अभियानलाई मानवताका लागि सकारात्मक कदमको रूपमा स्वागत गरेका छन्। उनीहरूका अनुसार निःशुल्क खाना सेवाले जाडो मौसम र कठिन परिस्थितिमा रहेका आश्रित व्यक्तिहरूलाई प्रत्यक्ष राहत पुग्नेछ।

सम्बन्धित् समाचार