गृहपृष्ठ Featured विजयनगरमा २ सय ८० जना जेष्ठ नागरिकलाई पालिकाको सम्मान

विजयनगरमा २ सय ८० जना जेष्ठ नागरिकलाई पालिकाको सम्मान

घनश्याम भर

कपिलवस्तु, ३० पौष ।

कपिलवस्तुको विजयनगर गाउँपालिकाले ८१ वर्ष उमेर पूरा गरेका २ सय ८० जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ । गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरि बुधबार जेष्ठ नागरिकलाई कम्बल र च्यवनप्राश वितरण गर्दै सम्मान गरेको हो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले ज्येष्ठ नागरिक समाजका मार्गदर्शक भएको उल्लेख गर्दै “ज्येष्ठ नागरिकको योगदानका कारण आज हामी यहाँसम्म आइपुगेका हौँ । उहाँहरूको सम्मान गर्नु हाम्रो कर्तव्य हो ।” अध्यक्ष थापाले आगामी दिनमा पनि जेष्ठ नागरिकलाई लक्षित कार्यक्रम निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले जेष्ठ नागरिकको स्वास्थ्य र सम्मानलाई गाउँपालिकाले प्राथमिकतामा राखेको बताउँदै जेष्ठ नागरिकको जीवन सहज बनाउन यस्ता कार्यक्रम आवश्यक रहेको जिकिर गरिन् ।

यस्तै गरी प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले जेष्ठ नागरिकमैत्री नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने बताए । उनले गाउँपालिकाले जेष्ठ नागरिकको सम्मान मात्र नभएर संरक्षण र सेवा सुविधामा पनि ध्यान दिइरहेको बताए ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख रेनु पाण्डेले सञ्चालन गरेको उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा जेष्ठ नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

सम्बन्धित् समाचार