निर्वाचन आयोगले विशेष महाधिवेशनबाट सभापति चयन भएका गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएपछि शेरबहादुर देउवा पक्षले विघटित केन्द्रीय समिति बैठक बोलाएको छ।
शनिबार बिहान ८ बजे बस्ने गरी पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले बैठक बोलाएका हुन्।
बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भनिएको छ।
बैठकमा उपस्थित हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेशका प्रदेश सभापतिहरूलाई आमन्त्रण गरिएको छ।
शुक्रबार बेलुकी निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएको थियो।
त्यसअघि पूर्वकार्यवाहक सभापति खड्काले सानेपामा पत्रकार सम्मेलन गरी निर्वाचन आयोगले आफूहरूलाई मान्यता नदिए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको थियो।
नेपाली कांग्रेसको नियमित महाधिवेशन टरेपछि ५४ प्रतिशत प्रतिनिधिले बुझाएको हस्ताक्षर अनुसार भृकुटीमण्डपमा विशेष महाधिवेशन भएको थियो।
विशेष महाधिवेशनबाट सभापतिमा गगन थापा, उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीमा प्रदीप पौडेले र गुरूराज घिमिरे लगायत १३ सदस्यीय पदाधिकारीसहित १३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको थियो।







