नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले कांग्रेस र एमालेभन्दा रास्वपा फरक नभएको टिप्पणी गरेका छन्।
मंगलबार नेकपा (संयुक्त)को चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै भुसालले रास्वपा, कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लगायतका राजनीतिक दलको नीतिगत रूपमा हिँड्ने बाटो एउटै रहेको जिकिर गरे। उनले सबै राजनीतिक शक्तिबीच नाम, नारा र शैलीमा फरक देखिए पनि नीतिगत रूपमा एउटै बाटोमा हिँडिरहेको उनको भनाइ थियो।
उनीहरूबीच जनतालाई ढाँट्ने कुरामा मात्रै प्रतिष्पर्धा भइरहेको भुसालको दाबी थियो। पञ्चायत अन्तिमतिर उदारवादी बाटोमा हिडेको र सोही बाटोलाई प्रजातन्त्र र अहिलेको गणतन्त्रले पनि पछ्याइरहेको उनको भनाइ थियो।
‘एमाले, नेपाली कम्युनिस्ट, कांग्रेस र रास्वपा सार त एउटै हुन्। हाम्रो दाबी के हो भने यी सबै एउटै हुन्। कसले कसरी सडकबारे कुरा गरेर जनतालाई ढाँट्ने कुरामा प्रतिष्पर्धा बाहेक कार्यक्रमका हिसाबले उनीहरूको हिँड्ने बाटो एउटै हो,’ भुसालले भने, ‘पञ्चायत अन्तिमतिर उदारवादी बाटोमा हिँड्दै थियो, हाम्रो प्रजातन्त्र त्यही बाटो हिँड्यो र अहिले गणतन्त्र पनि त्यही बाटो हिँडिरहेको छ। यही बाटोमा केही पत्र थप्ने हुन्, कसले कुन पत्र थप्छ, कसले कस्तो साईनबोर्ड राख्छ, यसमा प्रतिष्पर्धा छ।’
जनयुद्ध लडेर आएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पार्टी नेकपाको घोषणापत्र र नयाँ पुस्ताको दाबी गर्ने रास्वपाको करारपत्रमा भएको आर्थिक प्रतिबद्धताबीचमा पनि खास अन्तर नरहेको भुसालले बताए। उनीहरूको ५ वर्षमा १५० खर्ब रुपैयाँको कुल ग्रार्हस्थ्य उत्पादन (जीडीपी) पुर्याउने वाचा ढाँट्ने प्रतिष्पर्धा मात्रै भएको उनको टिप्पणी थियो।







