नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आउँदो प्रतिनिधि सभाको निर्वाचनबाट एमाले पहिलो पार्टी बन्ने दाबी गरेका छन्।
मंगलबार झापा-५ मा आयोजित प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमालेलाई पहिलो पार्टी हुनबाट कसैले रोक्न नसक्ने बताए। पहिलो पार्टी हुन २०८४ साल पर्खिरहेको जिकिर गर्दै मध्यावधिले अहिले नै पहिलो पार्टी हुने मौका मिलेको उनको भनाइ थियो।
‘एमाले दोस्रो पार्टी थियो, अहिले चुनाव हुने भयो, पहिलो पार्टी हुन्छ। यतीका लागि त हामी हतार नै गरेका थिएनौँ त। हामी त ८४ पर्खिराख्या थियौँ। तर हामीलाई पहिलो पार्टी हुने मौका मिल्ने भयो,’ ओलीले भने।
एमालेलाई सिध्याउन खोजे पनि झन बलियो भएर आएको उनको भनाइ थियो। ‘एमाले सिद्ध्याउन आगो लगाए, एमाले पहिलो पार्टी हुन्छ,’ ओलीले थपे, ‘एमाले विरोधी शक्तिहरूलाई मैले भन्ने गरेको छु, कान खोलेर सुने हुन्छ, एमाले आउँदो निर्वाचनमा पहिलो पार्टी हुन्छ।’
आगामी चुनाव आगो लगाउने र शान्ति चाहने बीचको भएको उनको दाबी थियो। नेपाली अशान्ति चाहने जाति नभएको उनले उल्लेख गरे।
‘देशमा अराजकता मच्चाउने, आगजनी गर्ने, राज्यको सम्पत्ति आगजनी गर्ने, तोडफोड गर्नेलाई नेपाली हुँ भन्न पनि सरम हुनु पर्दछ। अर्काको सम्पत्ति लुटपाट गरेर, लुटेर जीविका चलाउने नेपाली जाति होइन,’ ओलीले भने।
ओलीले शान्तिका पक्षमा लाग्न सबैलाई आग्रह गरे। ‘नेपाली गरी खाने जाति हो, लुटेर खाने जाति होइन। नेपाली शान्तिप्रिय जाति हो, आगो लगाउँदै कुद्ने जाति होइन,’ उनले भने।
प्रतिनिधि सभाको निर्वाचनमा ओली झापा-५ बाट उम्मेदवार बनेका छन्। केही दिनदेखि उनी चुनावी अभियानका लागि झापामै छन्।







