गृहपृष्ठ Featured टी-२० विश्वकप: पाकिस्तानलाई जित्नै पर्ने दबाब

टी-२० विश्वकप: पाकिस्तानलाई जित्नै पर्ने दबाब

आईसीसी टी–२० विश्वकपमा आज सुपर–८ को समीकरण पूरा हुँदै छ। समूह ‘ए’ बाट सुपर–८ मा पुग्ने दोस्रो टिम तय भएसँगै अघिल्लो चरणमा पुग्ने सबै ८ टिमको टुंगो लाग्नेछ। अन्य समूहबाट अघिल्लो चरणमा पुग्ने टिम तय भइसकेकाले पाकिस्तान र नामिबियाबीच दिउँसो हुने खेलले सुपर–८ पुग्ने अन्तिम टिमको टुंगो लगाउनेछ।

समूह ‘ए’ बाट भारत शीर्ष स्थानमा रहेर सुपर–८ मा स्थान बनाउँदा दोस्रो टिमको टुंगो दिउँसो ३:१५ बजे हुने नामिबिया र पाकिस्तानबीचको खेलबाट लाग्नेछ। उक्त खेलमा नामिबियाले पाकिस्तानलाई हराएमा अमेरिकाले सुपर–८ मा स्थान बनाउनेछ। यदि पाकिस्तानले नामिबियालाई हराएको खण्डमा पाकिस्तान सुपर–८ मा प्रवेश गर्नेछ।

त्यस्तै, दिनको पहिलो खेलमा पहिलो पटक युएईले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दै छ। समूह ‘डी’ मा दक्षिण अफ्रिका अपराजित रहँदै यसअघि नै सुपर–८ मा पुगिसकेकाले शतप्रतिशत जितका लागि युएईसँग खेल्नेछ। यस्तोमा युएई भने बलियो टेस्ट राष्ट्रलाई हराएर इतिहास रच्ने प्रयासमा मैदान उत्रिनेछ। खेल दिल्लीमा बिहान ११:१५ बजे सुरु हुनेछ।

त्यस्तै, दिनको अन्तिम खेलमा भारत र नेदरल्यान्ड्स भिड्नेछन्। समूह ‘ए’ मा अपराजित भारतलाई बलियो एसोसिएट टोली नेदरल्यान्ड्सले चुनौती दिनेछ। उपाधि दाबेदार भारत शतप्रतिशत जितसहित सुपर–८ पुग्ने लक्ष्यमा रहँदा नेदरल्यान्ड्स भने सनसनीपूर्ण नतिजाको प्रतीक्षामा छ। यस समूहबाट नेदरल्यान्ड्स र नामिबिया बाहिरिसकेका छन्।

विश्वकपमा हालसम्म समूह ‘बी’ बाट श्रीलंका र जिम्बाब्वेले सुपर–८ मा स्थान बनाउँदा अस्ट्रेलिया समूह चरणबाटै बाहिरिएको छ। आयरल्यान्ड र जिम्बाब्वेबीचको खेलमा वर्षा बाधक भएपछि दुवै टिमले अंक बाँड्दा जिम्बाब्वे अन्तिम खेलअघि नै सुपर–८ मा पुगेको हो। अस्ट्रेलिया भने प्रतियोगितामा तीनमध्ये दुई खेलमा हार भोग्दै अन्तिम खेलअघि नै बाहिरिएको हो। समूहमा श्रीलंका अपराजित रहँदै शीर्ष स्थानमा छ।

त्यस्तै, समूह ‘सी’ बाट वेस्ट इन्डिज र इङ्ल्यान्डले सुपर–८ मा स्थान बनाउँदा स्कटल्यान्ड तेस्रो स्थानमा रहेर प्रतियोगिताबाट बाहिरियो। इटाली चौथो र नेपाल पाँचौँ स्थानमा रहेर प्रतियोगिताबाट बिदा भए। यद्यपि कुनै पनि टिम जितविहीन रहनु परेन।

त्यस्तै, समूह ‘डी’ बाट पनि सुपर–८ को समीकरण पूरा भएको छ। दक्षिण अफ्रिका सबै तीन खेलमा जित निकाल्दै तालिकाको शीर्ष स्थानमा रहेर छनोट हुँदा न्युजिल्यान्ड दोस्रो स्थानमा रहँदै सुपर–८ मा पुगेको छ। अब समूह ‘ए’ र समूह ‘बी’ बाट अन्तिम दुई टिमको टुंगो लाग्न बाँकी छ।

सम्बन्धित् समाचार