गृहपृष्ठ Featured रुपन्देहीमा चोरीको गरगहना र स्कुटरसहित दुई जना पक्राउ

रुपन्देहीमा चोरीको गरगहना र स्कुटरसहित दुई जना पक्राउ

रुपन्देहीको सैनामैनामा चोरीका सुनका गरगहना र स्कुटरसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा खानतलासी गर्दा चोरीमा संलग्न व्यक्तिहरूलाई सुनका विभिन्न गरगहना र स्कुटर सहित पक्राउ गरेको हो।

यसरी पक्राउ पर्नेहरूमा कपिलवस्तु नगरपालिका वडा नं. १ का २३ वर्षीय लोक बहादुर बि.क. र सैनामैना नगरपालिका वडा नं. १ का ३३ वर्षीय दीपक गाहा (माँगुरे) रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दका अनुसार सोमबार राती करिब १ बजे सैनामैना नगरपालिका वडा नं. ४ स्थित कर्बलाको भित्री सडक खण्डमा शङ्कास्पद अवस्थामा फेला परेको लु ९९ प ७३८८ नम्बरको स्कुटर भित्र लुकाइराखेको अवस्थामा सुनका गरगहना फेला परेको हो।

प्रहरीले सडकमा स्कुटर छोडेर फरार भएका व्यक्तिहरूलाई खोजी गर्दै जाँदा सैनामैना नगरपालिका वडा नं.१ बनकट्टाबाट पक्राउ गरेका थिए।

प्रहरीले स्कुटरभित्र बाट एक एक थान सुनको बाला, हार, मिनी हार, सिक्री र मसिना बाला तथा तिन थान कानको झुम्का बरामद गरेको जनाएको छ। त्यस्तै दुई थान मोबाइल समेत बरामद गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रन्यौरामा राखी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।

प्रहरीले ती गरगहना कहाँबाट र कसको घरबाट चोरी गरिएको हो भन्नेबारे विस्तृत खोजतलास गरिरहेको जानकारी दिएको छ।

सम्बन्धित् समाचार