गृहपृष्ठ Featured भोट माग्न होइन, काम माग्न आएको हौँ: बालेन

भोट माग्न होइन, काम माग्न आएको हौँ: बालेन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले सुदूरपश्चिमको विकास र समृद्धिको सपना पूरा गर्ने एक मात्र शक्ति रास्वपा भएको दाबी गरेका छन्।

बुधबार कैलालीको धनगढीमा आयोजित परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै उनले अब देशको राजनीति गफमा होइन, जनताको प्रत्यक्ष सरोकारका विषयमा केन्द्रित हुनुपर्ने बताएका हुन्।

उनले भने, ‘मान्छेहरू देशलाई स्विजरल्याण्ड बनाउनुपर्छ भन्छन्, तर स्विजरल्याण्डको बाउ बडीमालिका यहीँ छ, रामारोशन र खप्तड राष्ट्रिय निकुञ्ज यहीँ छ। हामीसँग भएको चिज हामीले देखाउनै सकेका छैनौँ।’

शाहले सुदूरपश्चिमलाई काठमाडौंसँग जोड्ने कुरा केवल सडकले मात्र नहुने भन्दै सांस्कृतिक एकतामा जोड दिए। ‘जुन दिन सुदूरपश्चिमका गीतहरू काठमाडौंका चोक-चोकमा बज्न थाल्छन्, बल्ल सुदूरपश्चिम काठमाडौंसँग जोडिनेछ,’ उनले भने।

पार्टीको मुख्य एजेण्डाका बारेमा प्रष्ट पार्दै उनले शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकतामा राखे।

उनले खल्तीमा पैसा नभएका विपन्न नागरिकले पनि गुणस्तरीय शिक्षा र स्वास्थ्य उपचार पाउनु नै रास्वपाको मुख्य लक्ष्य रहेको उल्लेख गरे।

‘दुई वर्षमा बन्नुपर्ने बाटो २० वर्षसम्म नबन्ने विडम्बना अब अन्त्य हुनुपर्छ, डेढ वर्षमा काम सक्ने पद्धति हामी बसाल्छौँ,’ उनले थपे।

रास्वपा अन्य पार्टीभन्दा फरक रहेको दाबी गर्दै उनले रास्वपाले कुनै विशेष दलका कार्यकर्ताका लागि मात्र नभई कांग्रेस, एमाले र माओवादी लगायत सम्पूर्ण नेपाली जनता हिँड्ने बाटो बनाउने प्रतिवद्धता व्यक्त गरे।

उनले भने, ‘रास्वपा तपाईंहरूसँग भोट माग्न मात्र आएको होइन, काम माग्न आएको हो। तपाईंहरूले भोट नदिए पनि रास्वपाले सुदूरपश्चिम बनाउँछ। हामीलाई कामको सूची दिनुहोस्, हामी काम गरेर देखाउँछौँ।’

सम्बन्धित् समाचार