गृहपृष्ठ Featured ३० वर्षमा बन्न नसकेको पूर्वाधारलाई ५ वर्षमा बनाउँछौँ : गगन थापा

३० वर्षमा बन्न नसकेको पूर्वाधारलाई ५ वर्षमा बनाउँछौँ : गगन थापा

नेपाली कांग्रेसका सभापति एवं सर्लाही-४ का उम्मेदवार गगन थापाले ३० वर्षमा नबनेका मधेशका पूर्वाधार ५ वर्षमा बनाउने संकल्प लिएर आएको बताएका छन् ।

जनकपुरमा पहिलो चुनावी प्रतिज्ञा सभालाई सम्बोधन गर्दै थापाले मधेशले अब हेपिन नपर्ने गरी योजना बोकेर आएको बताएका हुन् । ‘३० वर्षभित्र बन्न नसकेको पूर्वाधार पाँच वर्षभित्र बनाउने सोच, योजना लिएर आएका छौँ,’ थापाले भने, ‘सिंगो नेपाललाई पेटभरी ख्वाउन सक्ने उत्पादन मधेशले गर्न सक्छ । तर, आज पनि ४ खर्बको अन्नपात, तरकारी, मसला हामी विदेशबाट आयात गर्छौँ । हामी यो क्रमलाई तोडेरै मधेशबाटै उत्पादन बढाउन चाहन्छौँ ।’

हजारौँ रोजगारी सिर्जना गर्न सक्ने संकल्प, सोच, विश्वास र सुझबुझ आफूहरूसँग भएको उनको भनाइ छ । यसैले रोजगारी सिर्जना गर्ने, उद्योग, पूर्वाधार, पर्यटन, वित्तीय प्रणालीलाई बलियो बनाउने उनले प्रष्ट्याए । ‘मधेशको वित्तीय संरचना खलबलिएको छ । लघुवित्तदेखि सहकारीबाट नागरिक ठगिएका छन् । हामी यसमा सुधार गर्न चाहन्छौँ,’ थापाले भने, ‘हामी तन्नेरीसँग काम गर्न चाहन्छौँ । मधेशको नेता होइन बेटा बन्न आएको छु । यसको लागि कांग्रेस जित्न जरुरी छ ।’

पाँच वर्ष मधेशसँग गरेको वाचालाई तलमाथि हुन दिँदैनौँ । संघीयता किन चाहिन्छ भनेर प्रमाणित गर्ने चाहना आफूहरूको रहेको उनले बताए । ५ वर्षभित्र मधेशका प्रत्येक जिल्लामा उपचारको राम्रो प्रबन्ध गर्ने र स्वास्थ्य बीमालाई थप व्यवथित बनाउने उनले बताए ।

‘हामी मधेशबाट उपचारको लागि एम्बुलेन्समा काठमाडौंमा जान नपर्ने व्यवस्था गर्छौँ । प्रत्येक जिल्लामा उपचारको गर्न पाउने व्यवस्थजा गर्छौँ,’ थापाले भने, ‘म खानेपानीको समस्या समाधान गर्न मधेश आएको हो । खानेपानीको दशक, पूर्वाधारको दशक, सिंचाइ, खेलकुद हर क्षेत्रको समस्या समाधान गर्न चाहन्छौँ ।’ थापाले मधेशमा राम्रो क्रिकेट एकेडेमी भारतको सहयोग लिएर भए पनि बनाउने उद्घोष थापाले गरे ।

सम्बन्धित् समाचार