गृहपृष्ठ Featured नेयमारले भने- वर्षको अन्तमा सन्न्यास घोषणा गर्न सक्छु

नेयमारले भने- वर्षको अन्तमा सन्न्यास घोषणा गर्न सक्छु

ब्राजिलका स्टार स्ट्राइकर नेयमारले आफूले यसै वर्षको अन्त्यमा फुटबलबाट सन्न्यास लिनेबारे सोचिरहेको बताएका छन्।

३४ वर्षीय नेयमार सन् २०१७ मा बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेइन (पीएसजी) मा करिब २० करोड पाउन्डमा स्थानान्तरण भएका थिए। जुन अहिलेसम्म कुनै खेलाडीका लागि पीएसजीले खर्चिएको सर्वाधिक ठुलो रकम मानिन्छ।

तर पछिल्ला केही सिजनमा उनी लगातार चोटका कारण प्रभावित बनेपछि उनले क्लब छोडेर साउदी क्लब अल-हिलाल गएका थिए। यद्यपि, उनले यसै समरमा हुने फिफा विश्वकपमा आफ्नो देशका लागि खेल्ने आशा व्यक्त गरेका छन्।

नेयमारले जनवरी २०२५ मा साउदी क्लब अल-हिलालबाट आफ्नो बाल्यकालको क्लब सान्तोषमा फर्किँदै २०२६ को अन्त्यसम्मका लागि सम्झौता नवीकरण गरेका थिए। तर चोटले सताएको पहिलो वर्षमै उनले डिसेम्बरको अन्त्यमा घुँडाको शल्यक्रिया गराएपछि जनवरीमा सुरु भएको ब्राजिलियन सिजनको सुरुवात गुमाउन पुगेका थिए।

उनी गत साता मात्र मैदानमा फर्किएका हुन्। ब्राजिलको अनलाइन च्यानल ‘काजे’ सँग कुरा गर्दै उनले भने, ‘अब के हुन्छ भन्ने मलाई थाहा छैन, अर्को वर्षबारे पनि निश्चित छैन।’

उनले थपे, ‘डिसेम्बर आएपछि सन्न्यास लिने सोच आउन पनि सक्छ। अहिले म वर्ष–वर्ष गर्दै अघि बढिरहेको छु।’ नेयमार ब्राजिलका लागि सर्वाधिक गोलकर्ता खेलाडी हुन्। उनले ७९ गोल गरेका छन्, जुन महान् खेलाडी पेलेको भन्दा दुई गोल बढी हो। तर उनले सन् २०२३ को अक्टोबरपछि राष्ट्रिय टोलीबाट खेलेका छैनन्।

साथै, कार्लो एन्सेलोटीको विश्वकप टोलीमा स्थान बनाउन पनि उनलाइ ‘ठूलो चुनौती’ रहेको मानिन्छ। उनले भने, ‘यो वर्ष केवल सान्तोषका लागि मात्र होइन, ब्राजिल राष्ट्रिय टोलीका लागि पनि अत्यन्तै महत्वपूर्ण छ, किनकि यो विश्वकपको वर्ष हो। मेरो व्यक्तिगत रूपमा पनि यो वर्ष विशेष महत्वको छ।’

सम्बन्धित् समाचार